मुगुको सोरु गाउँपालिकामा खानेपानीको हाहाकार, मुहान सुक्दा महिलाहरुको दैनिकी कष्टकर

मुगु :कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकामा खानेपानीको समस्या गम्भीर बन्दै गएको छ। लामो समयदेखिको खडेरी, जलवायु परिवर्तनको असर, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा तीव्र वन फँडानीका कारण प्राकृतिक पानीका मुहान सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पर्ने खानेपानी जुटाउन समस्या भएको हो।

सोरु गाउँपालिका वडा नम्बर ३ भिई, वडा नम्बर १ र २ अन्तर्गतका दुई दर्जनभन्दा बढी बस्तीमा रहेका खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयहरू आधा घण्टादेखि एक घण्टासम्म टाढा रहेका नाउलामा पुगेर पानी ल्याउन बाध्य भएका छन्। धमिलो पानीका लागि समेत रातभर लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

वडा नम्बर ३ भिईमा रहेका आठ बस्तीका करिब ३ सय १५ भन्दा बढी घरपरिवारसहित वडा नम्बर १, २ र ३ का हजारौँ नागरिक खानेपानीको अभाव झेलिरहेका छन्। खेतबारीमा सिँचाइ गर्न त परै जाओस्, मानिसलाई पिउने पानी जुटाउनै कठिन भएको स्थानीयको भनाइ छ।

खानेपानीको जोहो गर्ने मुख्य जिम्मेवारी अहिले महिला, बालबालिका र वृद्धवृद्धाको काँधमा परेको छ। बिहानदेखि बेलुकासम्म र कतिपय अवस्थामा रातभर लाइन बसेर एक–एक भाँडो पानी भर्नुपर्ने बाध्यता रहेको छ। एक गाग्री पानीका लागि समेत पालो कुर्नुपर्ने र कहिलेकाहीँ विवादसमेत हुने गरेको स्थानीयले बताएका छन्।

“घरको एक जनाको दैनिक काम नै पानी ल्याउने भएको छ। २० लिटर पानी लिन तीन–चार घण्टा पालो कुर्नुपर्छ। साना बालबालिका पानी लिन गए पनि खाली हात फर्किनुपर्ने अवस्था छ,” सोरु गाउँपालिका–३ भिईकी स्थानीय सरदेवी धामीले बताइन्।

खडेरीका कारण पछिल्ला दुई वर्षदेखि पानीका मुहान सुक्दै जाँदा खेतबारीमा लगाइएका बालीसमेत प्रभावित भएका छन्। असार महिनामा हरियाली हुनुपर्ने समयमै जमिन सुख्खा देखिएको छ। अन्न उत्पादन घट्दा आगामी दिनमा खाद्य संकट आउन सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

निर्वाचनका बेला खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने नेताहरू जितेपछि गाउँ नफर्किएको स्थानीय डल्ली धामीले गुनासो गरिन्।

पशुचौपायालाई समेत पानीको अभाव भएपछि स्थानीयले मुगु कर्णाली नदी आसपासमा चराउन लैजाने गरेका छन्। नुहाउने, सरसफाइ गर्ने तथा पशुलाई पानी खुवाउने अवस्था समेत नरहेको स्थानीयको भनाइ छ।

खानेपानी व्यवस्थापनका लागि गाउँमा चौकीदार राखिएको भए पनि पछिल्लो समय मुहान नै सुक्दै गएपछि समस्या समाधान गर्न कठिन भएको खानेपानी चौकीदार धनवीर बुमीले बताए। “वरिपरिका जंगलमा खोज्दा पनि पानीका मुहान भेटिँदैनन्। चौकीदारले मात्र समस्या समाधान हुने अवस्था छैन,” उनले भने।

सोरु गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सिंहबहादुर धामीले खानेपानीको मुख्य समस्या नै मुहान सुक्नु रहेको बताए। उनका अनुसार पुराना खानेपानी आयोजना मर्मत सम्भार गरेर तत्काल समस्या समाधानको प्रयास भइरहेको छ। दीर्घकालीन समाधानका लागि मुगु कर्णाली नदीबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानी र सिँचाइको योजना अघि बढाउन डीपीआरको काम भइरहेको उनले जानकारी दिए।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले वडा नम्बर १, २, ३ र ६ मा खानेपानीको समस्या बढी देखिएको बताए। संघीय सरकारमार्फत बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको र ठेकेदारलाई छिटो काम गर्न पहल भइरहेको उनको भनाइ छ। विशेषगरी वडा नम्बर ३ भिईका आठ बस्तीलाई लक्षित गरी लिफ्टिङ खानेपानी र सिँचाइको योजना अघि बढाइएको उनले बताए।

समयमै खानेपानी समस्या समाधानका लागि प्रभावकारी पहल नभए केही बस्तीबाट बसाइँसराइ गर्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ। पानीको संकट न्यूनीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक देखिएको छ।

सम्बन्धित समाचार