जुम्लामा गिट्टी,बालुवा उत्खनन् तथा संकलन कार्य बन्द
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाभित्रका नदी तथा खोलाबाट हुने ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन् तथा सङ्कलन कार्य बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले आईतबार जारी गरेको सूचनामा र्फत मिति २०८३ असार ७ गतेदेखि लागि नदीजन्य पदार्थ उत्खनन् तथा सङ्कलन कार्य पूर्णरुपमा बन्द गरिएको जनाएको हो।
जिल्ला भित्रका विभिन्न नदी तथा खोलाबाट हालसम्म अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा सङ्कलन हुँदै आएको र यस विषयमा पटक,पटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले आवश्यक कानुन बनाएर मात्र कानुन सम्मत रुपमा उत्खनन् तथा उपयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९)को दफा ४ को उपदफा (१६) बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको मिति २०८३/०३/०५ गते बसेको बैठकको निर्णय अनुसार उत्खनन् तथा सङ्कलन बन्द गरिएको सूचनामा उल्लेख छ।
उनले भने,जिल्ला प्रशासन कार्यालय सूचनाको विपरीत नदी तथा खोला क्षेत्रमा नदीजन्य पदार्थको चोरी निकासी, अवैध उत्खनन् वा सङ्कलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सम्बन्धित सबै स्थानीय तह, व्यक्ति तथा निकायलाई सो निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।









