जुम्ला बहुमुखी क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकाय विस्तारबारे अन्तरक्रिया

जुम्ला :स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र संकाय विस्तार गर्ने उद्देश्यले जुम्ला बहुमुखी क्याम्पस ले जुम्लास्थित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक तथा विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सामुदायिक तथा निजी क्याम्पस सञ्चालन भइरहेका भए पनि कर्णालीका क्याम्पसहरूमा आवश्यक संकाय विस्तार हुन नसकेको बताए। उनले कर्णाली प्रदेशका पाँचवटा क्याम्पसको अनुगमन भइरहेको जानकारी दिँदै मानविकी तथा सामाजिक शास्त्रका विषयहरू समयानुकूल रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले राजनीति शास्त्र, पत्रकारिता, कानुनलगायतका विषय अध्ययन–अध्यापन अगाडि बढाउन आग्रह गर्दै २०३० सालमा स्थापना भएको जुम्ला बहुमुखी क्याम्पसको स्तरवृद्धि अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरे। “मानव जातिको विकासका लागि सामाजिक शास्त्रको अध्ययन अपरिहार्य छ,” उनले भने।

कार्यक्रममा डा. वामदेव अधिकारीले विज्ञान संकायबाहेक अन्य विषय अध्ययन गर्न विद्यार्थीलाई कठिनाइ भइरहेको उल्लेख गर्दै नयाँ विषय विस्तारले कर्णालीका विद्यार्थीलाई सहज हुने बताए।

स्ववियु सभापति लोकेन्द्र बहादुर बुढाले जुम्लामा एलएलबी अध्ययनको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारिता, कानुन र राजनीति शास्त्र जस्ता विषय थप गर्नुपर्ने माग गरे। उनले कर्णालीको भविष्य निर्माणका लागि भवन मात्रै नभई गुणस्तरीय संकाय र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताए।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य ले क्याम्पसले रोजेको र विद्यार्थीले खोजेको विषयमा अध्ययन–अध्यापन सञ्चालन हुनुपर्ने बताए। उनले स्थानीय तहबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउँदै जुम्लाले माग गरेका विषयमा स्वीकृति दिन सम्बन्धित निकायलाई हार्दिक अनुरोध गरे।

त्यस्तै क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्रीले कर्णालीमा उच्च शिक्षाको पहुँच विस्तार गर्न मानविकी तथा सामाजिक शास्त्र संकाय थप गर्नु समयको आवश्यकता भएको धारणा राखेका थिए। उनले जहिले पनि कर्णाली त्यसै माथि जुम्ला भन्न बितिकै फरक मत राज्यका निकायले राख्ने गरेकाे दुखेशाे गरे ।उनले भने कुनै वेला जुम्लामा पाेष्टमार्टम गर्ने डाक्टर कुरेर शब कुईएकाे दिनकाे स्मरण गर्दै अहिले जुम्लाकाे प्रतिष्ठानले डाक्टर उत्पादन गरिरहेकाे बताए