मुगुका स्थानीय तहमा निर्माणाधीन अस्पताल भवन अलपत्र

मुगु: तत्कालीन प्रधानमन्त्री K. P. Sharma Oli ले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अघि सारेपछि सिंहदरबारबाट कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको थियो। तर मुगु जिल्लाका चार स्थानीय तहमध्ये Soru Rural Municipality, Mugum Karmarong Rural Municipality र Khatyad Rural Municipality मा निर्माणाधीन अस्पताल भवनको काम भने अझै अलपत्र अवस्थामा रहेको छ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि अस्पताल भवन अधुरा रहेका छन्।

मुगुको पूर्वी भेगमा पर्ने Khatyad Rural Municipality मा निर्माण भइरहेको १० शय्याको अस्पताल १८ महिनाभित्र सम्पन्न गर्ने गरी पिसिएल सुर्काय जेभी कम्पनीले १० करोड ६६ लाख रुपैयाँमा ठेक्का लिएको थियो। तर निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत मात्र भएको छ।

यो आयोजनाको म्याद दुई पटक थप भइसकेको छ। गाउँपालिकाले हालसम्म कम्पनीलाई २ करोड ५८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको जनाएको छ। अन्तिम म्याद २०८३ मंसिरसम्म तोकिए पनि अस्पताल निर्माणको ७० प्रतिशतभन्दा बढी काम अझै बाँकी रहेको देखिन्छ।

निर्माण कम्पनीका प्रतिनिधि तारासिंह थापाले समयमै बिल भुक्तानी नहुनु र बजेट स्रोत अभावका कारण काममा ढिलाइ भएको बताए। “पहिले प्राप्त भएको बजेटबाट सरिया, सिमेन्ट तथा कामदारलाई केही रकम भुक्तानी गरिएको थियो। पर्याप्त बजेट नआएकाले कामदारलाई ज्याला दिनसमेत समस्या भएको छ,” उनले भने। उनका अनुसार असारसम्म दुई तला ढलान गर्ने लक्ष्यसहित काम भइरहेको र निर्माण सामग्री व्यवस्थापनको तयारी पनि भइरहेको छ।

स्थानीय चन्द्रबहादुर विकले अस्पताल निर्माण ढिलो हुँदा स्थानीय नागरिकले सास्ती खेप्नुपरेको बताए। “अस्पताल बन्ने भएपछि सामान्य बिरामी हुँदा गाउँमै उपचार पाइन्छ भन्ने आशा गरेका थियौं। तर चार वर्ष बितिसक्दा पनि भवन एक तलामै सीमित छ। कामदारले समेत ज्याला पाएका छैनन्। बिरामी पर्दा अझै सुर्खेत, नेपालगञ्ज, गमगढी वा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ,” उनले भने।

Khatyad Rural Municipality का पूर्वाधार शाखा प्रमुख महेश महतले निर्माण कम्पनीलाई कामको प्रगति अनुसार भुक्तानी गरिएको बताए। “पालिकाका अन्य आयोजनाभन्दा यो आयोजनामा केही ढिलाइ भएको छ। त्यसैले एक जना प्राविधिकलाई साइटमै खटाइएको छ। ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न लिखित तथा मौखिक रूपमा पटक–पटक ताकेता गरिएको छ,” उनले बताए। उनका अनुसार हाल आयोजनाको प्रगति ३० देखि ३५ प्रतिशतसम्म पुगेको छ।

मुगुको Khatyad Rural Municipality मात्रै होइन, Mugum Karmarong Rural Municipality को रिउस बगर र Soru Rural Municipality को तारापानीमा निर्माणाधीन अस्पताल भवनको काम पनि कछुवा गतिमा अघि बढिरहेको स्थानीयवासीको गुनासो छ।

स्थानीय तथा सरोकारवाला निकायले निर्माण कार्यलाई प्रभावकारी रूपमा अनुगमन गर्दै ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने देखिएको छ।