छैटौँ रारा ट्रेल रनको उपाधि जुम्लाका दलबहादुर र सुनमायालाई

मुगु :मुगु जिल्लाको रारा ताल क्षेत्रमा आयोजित छैटौँ रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले जितेका छन्। पुरुषतर्फ जुम्लाको तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवर तथा महिलातर्फ पातारासी गाउँपालिका–२ की सुनमाया बुढाले उपाधि हात पारेका हुन्।

रारा तालको प्राकृतिक सौन्दर्यको प्रचारप्रसार तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले विगत ६ वर्षदेखि रारा ट्रेल रन आयोजना गर्दै आएको छ। यस वर्ष पनि नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार सम्पन्न छैटौँ संस्करणको १६ किलोमिटर दौडमा महिला ४९ र पुरुष ३१२ जना सहभागी भएका थिए। एक विदेशी नागरिकसहित कुल ३६१ जनाको सहभागिता रहेको प्रतियोगितामा दलबहादुर कुँवरले ३११ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरे।

दलबहादुरले १६ किलोमिटर दूरी १ घण्टा १५ सेकेन्डमा पूरा गरेका थिए। जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का युवक राज बुढा १ घण्टा १ मिनेट ९ सेकेन्डमा दोस्रो भए भने मुगुको छायाँनाथ रारा नगरपालिका–१४, बाम गाउँका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे।

महिलातर्फ सुनमाया बुढाले ४९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन्। उनले निर्धारित १६ किलोमिटर दूरी १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पूरा गरिन्। पातारासी गाउँपालिका–२ कै राममाया बुढा १ घण्टा १५ मिनेट १ सेकेन्डमा दोस्रो भइन् भने डोल्पा जिल्ला त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १ घण्टा १७ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने महिला तथा पुरुषतर्फका विजेतालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

रारा ट्रेल रनले कर्णाली क्षेत्र प्राकृतिक सौन्दर्यले मात्र नभई खेल पर्यटनका हिसाबले पनि अत्यन्त सम्भावनायुक्त रहेको सन्देश प्रवाह गरिरहेको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराको पर्यटन प्रवर्द्धनसँगै खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष रारा ट्रेल रन आयोजना गर्दै आएको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठले बताए।