जुम्ला–रारा अल्ट्रा म्याराथनको महिला उपाधि कल्पना बुढालाई
जुम्ला : सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको महिला तर्फको उपाधि कल्पना बुढाले जितेकी छन् भने पुरुष तर्फ धिरबहादुर बुढा विजेता बनेका छन्।
५४ किलोमिटर दूरीको कठिन दौड पुरुषतर्फ धिरबहादुर बुढाले ६ घण्टा १२ मिनेट १७ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्। महिला तर्फ कल्पना बुढाले ७ घण्टा ७ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि जितेकी हुन्।
कर्णाली स्पोर्ट क्लब जुम्लाका अनुसार पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो तथा सोमबहादुर रावत तेस्रो भएका छन्। यस्तै महिला तर्फ सुनसरी रोकाया दोस्रो र सन्ध्या बुढा तेस्रो हुन सफल भएकी छन्।
क्लबका अध्यक्ष सरोज शाहीका अनुसार ५४ किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडीलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई रारा तालको किनारमा विशेष समारोहबीच पुरस्कार वितरण गरिने जनाइएको छ।
जुम्ला र मुगुलाई खेल पर्यटनमार्फत जोड्ने तथा विश्वसामु कर्णालीको पहिचान स्थापित गर्ने उद्देश्यसहित हरेक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुँदै आएको छ।
म्याराथनले खेल क्षेत्रको विकाससँगै कर्णालीमा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्याउँदै आएको आयोजकको भनाइ छ।









