जुम्लामा बालसम्वाददाता तालिम सुरु
जुम्ला : जुम्लामा बालपत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ। सोसेक नेपाल ले “विहानी परियोजना” अन्तर्गत कार्यक्षेत्रका पाँच जना बालबालिकालाई बालसम्वाददाता तालिम प्रदान गरेको हो।
चन्दननाथ नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत पाँच जना बालबालिका तालिममा सहभागी भएको आयोजकले जनाएको छ। बालबालिकालाई सानै उमेरदेखि कथा लेखन, समाजमा भएका घटना तथा समस्याहरूको पहिचान गरी सरोकारवाला निकायसम्म पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको सरस्वती भण्डारी ले जानकारी दिनुभयो।
तालिमको पहिलो दिन सहभागीहरूलाई पत्रकार, पत्रकारिता, सम्वाददाता, समाचार, समाचारका प्रकार तथा समाचारका स्रोत लगायतका विषयमा जानकारी गराइएको छ। सहभागी बालबालिकाले उत्साहका साथ सिकाइमा रुचि देखाएका छन्।
ज्ञान कुञ्ज माध्यमिक विद्यालय मा अध्ययनरत छात्रा सुजाता गिरी ले तालिमबाट नयाँ ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, विहानी परियोजनाले गरिरहेका गतिविधिबारे पनि सहभागीलाई जानकारी गराइएको छ।तालिममा मुख्य प्रशिक्षकको भूमिका पत्रकार नेत्रबहादुर शाही ले निर्वाह गरिरहनुभएको छ।









