मुगुमा माटो परीक्षण गर्दा अम्लीयपन बढी देखियो
मुगु : हिमाली जिल्ला मुगुस्थित छायाँनाथ रारा नगरपालिकाभित्र खेतीयोग्य जमिन तथा विशेषगरी फलफूल उत्पादन हुने क्षेत्रको माटो परीक्षण गर्दा अम्लीयपन बढी देखिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुको आयोजना तथा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतको प्राविधिक सहयोगमा गमगढी बजारमा केही दिनअघि सञ्चालन गरिएको माटो परीक्षण शिविरमा यस्तो तथ्य सार्वजनिक भएको हो।
शिविरमा छायाँनाथ रारा नगरपालिकाभित्रका १०६ स्थानबाट संकलित माटो नमूनाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा pH स्तरतर्फ १० स्थानको माटो बढी अम्लीय, ४५ स्थानको तटस्थ र ४२ स्थानको क्षारीय देखिएको छ। त्यसैगरी, नाइट्रोजनतर्फ १०२ स्थानमा मध्यम र ४ स्थानमा उच्च, फस्फोरसतर्फ ३ स्थानमा मध्यम र १०३ स्थानमा उच्च तथा पोटास तत्त्व २ स्थानमा कम, ६७ स्थानमा मध्यम र ३६ स्थानमा उच्च रहेको पाइएको छ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख परेकराज शाहीका अनुसार हिमाली क्षेत्रमा खेतीयोग्य जमिन सीमित भए पनि मुगुको माटोको अवस्था अन्य जिल्लाको तुलनामा राम्रो नै रहेको छ। उनले गोठेमलको उचित व्यवस्थापन तथा कोसेबाली भित्र्याउँदा जरा उखेल्नुभन्दा माथिबाट काटेर प्रयोग गर्न सुझाव दिए।
कार्यालयको वार्षिक कार्यक्रम अनुसार मुगुमा प्रत्येक वर्ष माटो परीक्षण शिविर सञ्चालन हुँदै आएको छ। यो तेस्रो वर्ष हो। गत वर्ष जिल्लाका चार स्थानीय तहबाट संकलित १४३ नमूनामध्ये ५९ स्थानमा क्षारीयपन र २८ स्थानमा अम्लीयपन बढी देखिएको थियो।
यस वर्ष भने विशेषगरी स्याउ, आरु, ओखर र नास्पाती उत्पादन हुने क्षेत्रका माटोमा परीक्षण गर्दा केही स्थानमा अम्लीयपन बढी देखिए पनि अधिकांश स्थानको अवस्था सन्तोषजनक रहेको जनाइएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुका प्रमुख तेजविक्रम मल्लका अनुसार अम्लीयपन घटाउन सल्लाको पिरलबाट मल बनाउने, जमिन बाँझो नराख्ने तथा भिरालो जमिनमा भू–क्षय नियन्त्रण गर्ने उपाय अपनाउन आवश्यक छ। वर्षा र हावाहुरीका कारण पोषक तत्त्व बग्ने भएकाले पोटासको कमी देखिएको उनले बताए।
स्थानीय कृषक जनक हमालले यसअघि कहिल्यै माटो परीक्षण नगरेको बताउँदै अहिले परीक्षणबाट प्राप्त नतिजाले खेती प्रणाली सुधार गर्न सहयोग पुगेको बताए। “कुन माटोमा कस्तो बाली राम्रो हुन्छ भन्ने थाहा पाउन नियमित परीक्षण आवश्यक छ,” उनले भने।
विशेषज्ञहरूका अनुसार माटोको स्वास्थ्य बिग्रिनुमा गोबर तथा कम्पोष्ट मलको न्यून प्रयोग, रासायनिक मलको असन्तुलित प्रयोग, विषादीको बढ्दो प्रयोग, बालीचक्रको अभाव, कोसेबालीको घट्दो प्रयोग, अवैज्ञानिक सघन खेती, भू–क्षय तथा माटो कडिने समस्या प्रमुख कारण हुन्।
यस अवस्थालाई सुधार गर्न तीनै तहका सरकारले कृषक लक्षित तालिम, गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।









