मुगुमा पहिलो पटक ‘छायानाथ अल्ट्रा रेस २०२६’जेठ ३ मा हुँदै

मुगु:हिमाली जिल्ला मुगुमा पहिलोपटक साहसिक ‘छायानाथ ट्रेल अल्ट्रा रेस २०२६’ प्रतियोगिता आगामी जेठ ३ गते आयोजना हुने भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना, अल नेपाल स्पोर्ट्स फाउन्डेसन (ANF) को सहकार्य, एड्भेन्चर नर्थको प्राविधिक सहयोग तथा नेपाल पर्यटन बोर्डको मुख्य प्रवर्द्धन साझेदारीमा कार्मारोङ क्षेत्रमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय, गमगढीमा सरोकारवालाबीच बसेको समन्वयात्मक बैठकमा प्रतियोगिताको तयारी, रेसको रुट, आवश्यक बजेट, भौतिक पूर्वाधार, स्वास्थ्य सेवा तथा सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास चन्द्र रावलका अनुसार करिब ९८ लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने यस प्रतियोगिताले मुगुम कार्मारोङ क्षेत्रलाई हाइकिङ, वाटर र्‍याफ्टिङ, प्याराग्लाइडिङ र रक क्लाइम्बिङ जस्ता साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । बैठकमा स्वास्थ्य सेवा कार्यालयले आवश्यक औषधि र चिकित्सक उपलब्ध गराउने, अन्य सरकारी तथा गैरसरकारी निकायले आवश्यक सहयोग गर्ने तथा सञ्चारमाध्यमले प्रचारप्रसारमा जोड दिने निर्णय गरिएको छ ।

प्रतियोगिताको रुट सिम्रिकबाट सुरु भई छायानाथ धाम, चिताइ कुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । कुल ३३ किलोमिटर दूरीको अल्ट्रा रेसमा महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । साथै स्थानीयका लागि ५ किलोमिटर दूरीको ‘फन रन’ पनि समावेश गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट नाम दर्ता गर्न सक्नेछन् । अनलाइन दर्ताका लागि www.chhayanathultran.com मा जान सकिनेछ भने काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको दर्ता केन्द्रमा पनि सशुल्क दर्ता गर्न सकिने आयोजकले जनाएको छ । सहभागी खेलाडीले निर्धारित दूरी १२ घण्टाभित्र पूरा गर्नुपर्नेछ ।

छायानाथ धामजस्तो धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रको प्रचारप्रसारसँगै हिमाली जीवनशैली उजागर गर्दै स्थानीय आर्थिक विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले जनही दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रोले १ लाख ५० हजार, तेस्रोले १ लाख, चौथोले ७५ हजार र पाँचौँले ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै स्थानीयतर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।