जुम्लामा दुर्लभ न्युरो शल्यक्रिया: नेता भण्डारीले गरे डा.निलम खड्काको प्रशंसा
जुम्ला : कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा एक गम्भीर घाइते बिरामीको सफल न्युरो शल्यक्रिया गरिएको छ। पातारासी गाउँपालिकाका गोरबहादुर बोहराको टाउकोमा गम्भीर चोट लागेपछि अवस्था नाजुक बनेको थियो। न्युरो सर्जन अभावका कारण उनलाई बाहिर रिफर गर्ने तयारी भइरहेका बेला काठमाडौँबाट जुम्ला पुगेकी न्युरो सर्जन डा. निलम खड्काले आकस्मिक रूपमा शल्यक्रिया गरी उनको जीवन रक्षा गर्नुभएको हो।
घरको छतबाट लडेर गम्भीर घाइते भएका बोहरालाई भेन्टिलेटरमा राखिएको थियो। उनलाई सुविधा सम्पन्न अस्पतालमा हेलिकप्टरमार्फत लैजान १०–१२ लाख रुपैयाँ खर्च लाग्ने र प्रतिकूल मौसमका कारण हवाई सेवा सम्भव नभएपछि परिवार गहिरो संकटमा परेको थियो।
यहीबीच जुम्लामा ध्यान शिविर सञ्चालनका लागि पुग्नुभएकी डा. खड्काले स्थानीयको अनुरोध स्वीकार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पुगेर करिब ७ घण्टा लामो जटिल शल्यक्रिया गर्नुभएको हो। शल्यक्रियामा सर्जरी विभाग प्रमुख डा. निर्मल थापा सहितको चिकित्सक टोलीको सक्रिय सहभागिता रहेको थियो।
शल्यक्रिया सफल भएपछि बिरामीको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक अभावका बीच गरिएको यो कार्यलाई स्थानीयवासीले अत्यन्त मानवीय र प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।
यस घटनाप्रति प्रतिक्रिया दिँदै नरेश भण्डारी ले सामाजिक सञ्जालमार्फत डा. खड्काको सेवाभाव र समर्पणको उच्च प्रशंसा गर्नु भएकाे छ ।उहाका अनुसार, यस्ता चिकित्सकहरू राष्ट्रका साँचो सम्पत्ति हुन्। भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्म दाता हुनुहुन्छ ।दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ बनाउन यस्ता समर्पित चिकित्सकहरूको भूमिका महत्वपूर्ण रहेको उहाकाे भनाईछ ।
डा. खड्का यसअघि जुम्लाको शिक्षण अस्पतालमा एक वर्ष सेवा गरिसक्नुभएको थियो। उहाँको इमान्दारिता, निष्ठा र मानवीय भावनाले पुनः एकपटक बिरामीको जीवन बचाएर उदाहरणीय कार्य प्रस्तुत गरेको सरोकारवालाहरूले बताएका छन्।









