कर्णाली राजमार्गको तिलागुफा खण्डमा भइरहेका सडक मर्मतबारे फैलिएको सामग्रीप्रति सडक डिभिजन जुम्लाको ध्यानाकर्षण

जुम्ला :कर्णाली राजमार्ग अन्तर्गत तिलागुफा क्षेत्रको सडक मर्मत कार्यसँग सम्बन्धित भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा प्रसारित भएपछि सडक डिभिजन कार्यालय जुम्लाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयका अनुसार उक्त निर्माण स्थलसहित आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन भइरहेका सम्पूर्ण निर्माण कार्यहरू सडक विभागको Standard Specification for Road and Bridge Works तथा सम्झौतामा उल्लेखित मापदण्डअनुसार गुणस्तरीय ढङ्गले सम्पन्न भइरहेको दाबी गरिएको छ।

डिभिजनले आफू सधैं पारदर्शिता र जवाफदेहिताका साथ काम गर्दै आएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको सदुपयोग र गुणस्तरीय निर्माणप्रति प्रतिबद्ध रहेको जनाएको छ। कर्णाली प्रदेशको दुर्गम तथा जटिल भूगोलमा समेत नियमसंगत र प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्दै सडक निर्माण तथा मर्मत कार्यमार्फत यातायात सञ्चालन सहज बनाउन निरन्तर प्रयास भइरहेको कार्यालयले स्पष्ट पारेको छ।

यसैबीच, सामाजिक सञ्जालमा फैलाइएका केही सामग्री भ्रामक रहेको दाबी गर्दै त्यस्ता सामग्रीले कार्यालय र कर्मचारीको छवि धमिल्याउने तथा मनोबल कमजोर पार्ने प्रयास भएको जनाएको छ। डिभिजनले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै आवश्यक परे कानुनी उपचारको विकल्प खुला राखेको चेतावनी दिएको छ।साथै, आम नागरिकलाई अपुष्ट तथा भ्रामक सामग्रीमा विश्वास नगर्न आग्रह गरिएको छ।