मुगुमा भिरको बाटोमै सुत्केरी: समयमै भएको उद्धारले जोगियो जीवन
मुगु : हिमाली जिल्ला मुगुको दुर्गम भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका ७, मह गाउँकी ३० वर्षीया साङमु लामा सोमबार साँझ जीवनकै सबैभन्दा कठिन र पीडादायी क्षणबाट गुज्रिइन्। सदरमुकाम गमगढीबाट आफ्नो घर फर्किँदै गर्दा साँझ करिब ७ः३० बजे, च्याप्नेगाड भन्ने जोखिमपूर्ण भिरालो बाटोमै उनले शिशुलाई जन्म दिन बाध्य भइन्।
त्यो समय उनी एक्लै थिइन्,न साथमा आफन्त, न सहयोग गर्ने कोही। चारैतिर गहिरो अँध्यारो, तल गर्जिरहेको कर्णाली नदी, माथि ठाडो ढुङ्गाको भीर। यस्तै भयावह परिस्थितिबीच असह्य पीडासँग जुध्दै उनले त्यही ढुङ्गामाथि आफ्नो सन्तानलाई जन्म दिइन्। नवजात शिशु रगत र माटोले लत्पतिएको अवस्थामा थियो, तर आमाको ममता र साहसले त्यो कठिन घडीमा पनि हार मानेन।
आफ्नो ज्यानको पर्वाह नगरी साङमुले मोबाइलमार्फत छायल बजारमा रहेकी आफ्नी साथीलाई खबर गरिन्। खबर पाउनासाथ साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु रोकाया र प्रस्तुती केन्द्रकी तिला मल्ललाई जानकारी दिइन्। त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि खटियो।
कठिन भौगोलिक अवस्थाबीच करिब एक घण्टापछि उद्धार टोली घटनास्थलमा पुग्यो। उद्धारमा खटिएकी तिला मल्लका अनुसार, घटनास्थलमा पुग्दा आमा पसिना र रक्तस्रावले भिजेकी थिइन् भने शिशु चिसोका कारण निलो भइसकेको र शरीरभरि माटो तथा ढुङ्गाले लत्पतिएको अवस्थामा फेला परेको थियो।
समयमै गरिएको उद्धारले आमा र शिशुलाई सुरक्षित रूपमा छायल प्रसूति केन्द्र पुर्याइयो। तर शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो। अस्पताल करिब चार घण्टाको दूरीमा रहेकाले यातायातको अभाव थप चुनौती बन्यो।
यहीबीच स्थानीयको आग्रहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलको पहलमा जिपको व्यवस्था गरियो। त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोलीले आमा र शिशुलाई जिल्ला अस्पताल पुर्यायो।
हाल नवजात शिशुको आईसियुमा उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन्।
साङमुका पति पेमा राप्के लामाका अनुसार, घरमा सानी छोरीको हेरचाह गर्नुपर्ने भएकाले उनी घरमै रहेका थिए। साङमु घर फर्किँदै गरेको कुरा पनि उनलाई थाहा थिएन। बाटोमै सुत्केरी भएको खबर पाएपछि उनी हतारिँदै छायल पुगे, तर त्यतिबेलासम्म श्रीमतीलाई अस्पताल लगिसकिएको थियो। “सानी छोरीलाई अरूको जिम्मा लगाएर म अस्पताल पुगेँ,” उनले भावुक हुँदै भने।
यो घटना दुर्गम क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलाले भोग्नुपरेको जोखिम, पीडा र स्वास्थ्य सेवाको अभावको ज्वलन्त उदाहरण हो। तर, यिनै चुनौतीका बीच एक आमाले देखाएको अदम्य साहस र स्वास्थ्यकर्मी तथा प्रहरीको समयमै भएको सक्रियताले दुई अमूल्य जीवन जोगाउन सफल भएको छ।








