निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास सम्पन्न

मुगु: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मर्यादित रूपमा सम्पन्न गर्न मुगु जिल्लामा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ।

नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा उक्त सुरक्षा अभ्यास गरिएको हो। निर्वाचनको समयमा एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले अभ्यास प्रदर्शन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला निर्वाचन कार्यालयबीच समन्वयमा एकीकृत सुरक्षा तालिम अन्तर्गत अभ्यास प्रदर्शन गरिएको थियो। निर्वाचनका क्रममा हुन सक्ने विभिन्न किसिमका निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने विषयमा सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा सम्भावित घटनाको नियन्त्रण अभ्यास प्रस्तुत गरेका थिए।

मतदान केन्द्रको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त भूमिका कस्तो रहने भन्ने विषयमा समेत प्रदर्शनमार्फत जानकारी दिइएको श्री हनुमानध्वज गुल्म, हुटुका सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिए।

एकीकृत तालिमको अन्तिम दिन आयोजित सुरक्षा प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरू स्वयं मर्यादित र जिम्मेवार हुनुपर्ने बताए। घटनाका स्वरूप फरक–फरक हुन सक्ने भएकाले ती गतिविधि नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता अभ्यासले मतदान केन्द्रलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

यस सुरक्षा अभ्यासले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्न मुगुमा आयोजित निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएकाे हाे ।