सुत्केरी उव्जा वडमाथि परेको दुःख र विपत : उपचारमा अभाव, सहयोगका लागि अपिल
जुम्ला: सिजा गाउँपालिका–२, उव्जा वड २४ वर्षीया युवती अहिले गम्भीर अवस्थासँग लडिरहेकी छन्। चार महिनाकी सुत्केरी तथा तीन सन्तानकी आमा उव्जा घरको दैनिकी चलाउन दाउरा ल्याउन चार वर्षकी छोरी र ४ महिनाको शिशु सहित जंगल गएकी थिइन्। दाउरा काट्न रुख चढ्ने क्रममा उनी रुखबाट लडेर गम्भीर घाइते भइन्।
दुर्भाग्यवश, उनको ४ महिनाको बच्चाको घटनास्थलमै मृत्यु भयो। चार वर्षकी छोरी भुइँमा सुरक्षित राखिएकी थिइन्, तर रोएको आवाज सुनेपछि मात्र गाउँलेहरूले घटना थाहा पाए।
उव्जालाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, teaching Hospital कोहलपुरमा ल्याइए पनि उनको अवस्था अझै गम्भीर छ। उनी बेहोस अवस्थामै छन्। चिकित्सकहरूको भनाइ अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। यहाँ अस्पतालमा न्युरो–विशेषज्ञ छैनन्, साथै अत्यावश्यक CT–Scan मेसिन झन्डै दुई हप्टादेखि बिग्रिएको छ। MRI सेवा त यहाँ उपलब्ध नै छैन।
यस्ता संवेदनशील समयमा उपचारका लागि आवश्यक उपकरण नै नचलेपछि अस्पतालका चिकित्सकले बाहिर लैजान सुझाव दिएका छन्। तर उव्जालाई काठमाडौंसम्म लैजाने आर्थिक अवस्था परिवारसँग छैन।
बिरामी जीवन जोखिममा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो ठूलो संस्थामा CT–Scan, X–Ray, TCT स्क्यान जस्ता उपकरण वारम्बार बिग्रिँदा पनि समयमै मर्मत नहुनु, पदाधिकारीहरूले ध्यान नदिनु, र बिरामीको जीवनपेक्षा सेमिनार–कार्यक्रमलाई प्राथमिकता दिनु दुःखद वास्तविकता हो।
बिरामीको उपचारका लागि बनेका उपकरण नै महिनौँ बिग्रिएको अवस्थामा बस्दा असंख्य बिरामी जोखिममा परिरहेका छन्।
परिवार पूर्ण संकटमा
उव्जाका श्रीमान् लालबहादुर वड रोजगारका लागि भारतमा छन्। घरमा उनी एक्लै तीन बच्चासहित बस्दै आएकी थिइन्। चार महिनाको शिशुको मृत्यु भइसकेको छ, उनी स्वयं जीवन–मृत्युसँग संघर्ष गरिरहेकी छन्।
उव्जाका आफन्त धीरबहादुर वडले भन्नुभयो ,“हामीसँग काठमाडौंसम्म लैजाने पैसा छैन। सहयोग बिना उपचार सम्भव छैन। सबै महानुभावहरूलाई आर्थिक सहयोगका लागि नम्र निवेदन गर्दछु।”
सहयोगका लागि अपिल
उव्जा वडको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले तल दिएको खातामा सहयोग गर्न सक्नुहुन्छ–
कृषि विकास बैंक,खाता नम्बर :०७२८९०५०४६९३३०१९मा र धीरबहादुर वड,सम्पर्क :९८४८३०२४१३ (धीरबहादुर वड),दुर्गम कर्णालीकी एक युवा आमाको जीवन बचाउन तपाईंको सानो सहयोगले ठूलो फरक पार्न सक्छ।सहयोगी मनहरुकाे लागि यहाँ रहेकाे क्युआर पनि सहयोग गर्न सक्नु हुने छ ।









