राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवस : स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा

जुम्ला :  महिला स्वास्थ्य स्वयंसेविकास्वाथ्य क्षेत्रको पहिलो खम्बा मानिदै आएका छन। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा किडार्क नेपाल, एमडीआई नेपाललगायत विभिन्न संस्थाको सहकार्यमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस जुम्लामा विविध कार्यक्रम सहित मनाइएको छ।

स्वस्थ समाजको निर्माण, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा वक्ताहरूले स्वास्थ्य प्रणालीको आधारस्तम्भका रूपमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्र बहादुर महतले निरन्तर सेवा र समर्पणका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमै स्वयंसेविका सेवा–प्रणालीको मान्यता प्राप्त गरेको बताए। उनले आगामी दिनहरूमा पनि कर्तव्य निष्ठापूर्वक पूरा गर्न स्वयंसेविकालाई आग्रह गरे।

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविका राधिका भण्डारी (भक्री भण्डारी) ले समुदायमा निस्वार्थ भावनासहित सेवा पुर्‍याउँदै आएको बताइन्। उनले अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले गर्भवती महिला, प्रसूति तथा जटिल अवस्थाका बिरामीलाई सुरक्षित राख्न स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको बताइन्। उनले स्वयंसेविकालाई “गाउँको कुनामा बल्ने दियो” को संज्ञा दिँदै मातृ मृत्युदर घटाउन उनीहरूको भूमिकाले महत्वपूर्ण प्रभाव पारेको जानकारी दिइन्।

त्यस्तै, चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढाथापाले स्वास्थ्य र सरसफाइ एक–अर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताउँदै नगरक्षेत्रमा अझै व्यवस्थित फोहर व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे। उनले स्वयंसेविकालाई स्वास्थ्य सेवा व्यवस्थाको तल्लो तहको आधारस्तम्भका रूपमा लिँदै उनीहरूको योगदान सदैव महत्वपूर्ण रहेको बताए।

चन्दननाथ नगरपालिकाका कार्यबाहक मेयर रबि थापाले गर्भवती महिला र बालबालिकाको स्वास्थ्य सुरक्षामा स्वयंसेविकाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको कार्यक्षमता आगामी दिनमा अझ प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा चन्दननाथ नगरपालिकाका सबै १० वडाबाट एक–एक जना गरी १० महिला स्वास्थ्य स्वयंसेविकालाई पछेउरा र सम्मानपत्र प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस हरेक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा डिसेम्बर ५ मा देशभर विभिन्न कार्यक्रमसहित मनाइन्छ। स्वयंसेविकाहरूले परिवार नियोजन परामर्श, अस्थायी साधन वितरण, झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा लगायतका महत्वपूर्ण सेवा समुदायमा प्रदान गर्दै आएका छन्।

सम्बन्धित समाचार