रारागाउँमा खानेपानी : सांसद छिरिङ ल्हामु लामा तामाङको पहलमा दशकौँदेखिको सपना पुरा हुने पक्का

जुम्ला, तिला गाउँपालिका-१ रारागाउँमा दशकौँदेखिको खानेपानीको समस्या समाधान भएको छ। संघीय सांसद छिरिङ ल्हामु लामा तामाङको निरन्तर पहल र राष्ट्रिय योजना आयोगमार्फत प्राथमिकतामा परेपछि स्थानीय बासिन्दाले बल्ल घरमै खानेपानी पाउने सपना पुरा भएको हो।

४३ वर्ष पुरानो समस्या

रारागाउँमा ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजनाको मुहान सुकेपछि गाउँ खानेपानी अभावले त्रसित थियो। करिब ३३० घरधुरी (रारा गाउँका ३०० र सेरीका ३० घर) चरम संकटमा थिए। स्थानीयले पाँच–पाँच घण्टा धारामा लाइन बस्नुपर्ने बाध्यता थियो। विद्यार्थीले समेत पानी भर्न विद्यालय छाड्ने अवस्था सिर्जना भएको थियो।

स्थानीयको खुसी

रारागाउँकी टिउकी रावत भन्छिन् :
“अब त गाउँमा पर्याप्त खानेपानी पुगेको छ। पाँच घण्टा पर्खेर धारामा लाइन बस्नुपर्ने बाध्यता हट्यो। बालबालिकाले विद्यालय छोडेर पानी भर्न जानुपर्ने समस्या अन्त्य भयो। हामी धेरै खुसी छौँ।”

अहिले पाइपलाइनमार्फत झण्डै २१ किलोमिटर टाढाबाट, तिला नदी पार गर्दै गाउँमा पानी ल्याइएको छ। धारा निर्माण अझै बाँकी भए पनि स्थानीय पाइपमार्फत आएको पानी प्रयोग गर्न थालिसकेका छन्। हाल ६ सेकेण्डमै १० लिटर बराबर पानी गाउँमा आइपुग्ने गरेको छ।

पहल र प्रयास

खानेपानीको समस्या समाधान गर्न तिला-९ सुडी गाउँले मुहान उपलब्ध गराएपछि गाउँपालिकाले प्रस्ताव अघि बढाएको थियो। सांसद छिरिङ ल्हामु लामा तामाङले उक्त प्रस्तावलाई राष्ट्रिय योजना आयोगसम्म पुर्याउँदै प्राथमिकतामा पार्न सफल भइन्।उनले भनिन्“राराको खानेपानी समस्या सामान्य थिएन। यसअघि पनि योजना बनेका थिए, तर सफल भएनन्। यसपटक निरन्तर पहलपछि मात्र सम्भव भएको हो। अब गाउँवासीले सहज रूपमा खानेपानी प्रयोग गर्न पाउनु ठूलो खुसीको कुरा हो।”

सिंगो गाउँको खुसीयाली

दशकौँदेखि पानीको अभाव झेल्दै आएको गाउँ अहिले आत्मनिर्भर हुँदै गएको छ। गाउँले भन्छन्, “यो हाम्रो लागि सपना पुरा भएको दिन हो।”

सांसद तामाङको पहल, गाउँपालिकाको सहयोग र सुडी गाउँले दिएको मुहानकै कारण रारागाउँमा खानेपानी पुगेको छ। यससँगै स्थानीयको दैनिकी सहज भएको छ भने गाउँले जीवनस्तरमा समेत परिवर्तन आउने अपेक्षा गरिएको छ।