चन्दननाथ योग साधना केन्द्रद्वारा तीजको शुभकामना तथा सात्तिक दर कार्यक्रम सम्पन्न
जुम्लाः हरितालिका तीजको अवसरमा चन्दननाथ योग साधना केन्द्र,जुम्लाको आयोजनामा शुभकामना आदान प्रदान तथा सात्तिक दर सेवन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली महिलाहरूको महान चाड तीजलाई सन्देश मूलक, र स्वस्थ शैलीमा मनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि चन्दननाथ नगरपालिका उपमेयर रामदेवी खड्का थिइन ।जेष्ठ नागरिक संघको हलमा सम्पन्न कार्यक्रममा बोल्दै उपमेयर खड्काले तीज पर्वका नाममा बढ्दै गइरहेका विकृति र विसंगतिहरू हटाउनु आवश्यक रहेको बताइन ।उनले पर्वलाई भड्किलो प्रदर्शनको रूपमा होइन, महिलाहरूका पीडा र भावना अभिव्यक्त गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन ।

त्यस्तै योग साधना केन्द्रका योग प्रशिक्षक नन्द प्रसाद न्यौपानेले तीज पर्वलाई आत्म अनुशासन,योग अभ्यास र सादा जीवनशैली सँग जोड्दै पर्वको वास्तविक सारलाई आत्मसात् गर्न सहभागीहरूलाई आग्रह गरे ।उनले सबै महिलाहरूलाई तीजको शुभकामना दिँदै योग अभ्यासले मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव पार्ने बताए ।
त्यसैगरी, चन्दननाथ नगरपालिका–५ का वडा अध्यक्ष वृख बहादुर कार्कीले तीज महिलाहरूको आत्म–अभिव्यक्तिको थलो भएको उल्लेख गरे ।उनले समय क्रमसँगै खानपानका परम्परागत परिकारहरूमा आएको परिमार्जन स्वाभाविक भएको बताए। साथै, स्थानीय उत्पादन तथा मौलिक परिकारहरूको उपभोगले स्वास्थ्यमा समेत लाभ पुग्ने कुरामा जोड दिएका छन ।
कार्यक्रमको अध्यक्षता चन्दननाथ योग साधना केन्द्रकी सचिव डम्बर कुमारी खड्काले गरेकी थिइन । उनले कुनै खर्चिलो भोज नभई, साधन केन्द्रमा तयार पारिएको सात्तिक दरलाई ‘प्रसाद’का रूपमा सबै दिदीबहिनीहरू लाई खुवाइएको जानकारी दिँदै, कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गरिन ।उक्त कार्यक्रमले तीज पर्वलाई अध्यात्म, योग, स्वास्थ्य र सामाजिक सद्भावसँग जोड्ने सकारात्मक पहल गरेको आयोजकको भनाइ छ।









