तिला नदीमा बगेर आएको रतुवाको सकुशल उद्दार, सामुदायिक वनमा पुनःस्थापना
तिला — जुम्ला जिल्लाको तिला गाउँपालिका–३ स्थित तिला नदीमा साउन ९ गते साँझ करिब ४ बजे बगेर आएको एक रतुवा (जंगली जनावर) सफलतापूर्वक उद्दार गरिएको छ।
स्थानीयवासी मुनप्रसाद भट्टराई (३८), सन्तविर सार्की (२३) र नरेन्द्र सार्की (२६) ले तिला नदीमा बगिरहेको रतुवा देखेपछि तत्काल उद्दार गरी सुरक्षित स्थानमा पुर्याएका थिए। तत्पश्चात, उनीहरूले उक्त रतुवालाई प्रहरी चौकी कुडारीमा बुझाई जानकारी गराएका थिए।
प्रहरी चौकीमा सुरक्षित राखिएको रतुवालाई तातोपानी सव-डिभिजन वन कार्यालयका कर्मचारीहरूले आवश्यक प्रक्रिया पूरा गरी जिम्मा लिएका थिए। वन कार्यालयका कर्मचारी, प्रहरी प्रतिनिधि, वडा जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा रतुवालाई तिला गाउँपालिका–३ अन्तर्गत पर्ने खड्का पातल सामुदायिक वन क्षेत्रमा छाडिएको हो।
उक्त वन क्षेत्र पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ र दक्षिणमा त्रिवेणी गाउँसँग सीमाना जोडिएको छ।
रतुवा उद्दार तथा पुनःस्थापनाको कार्यमा वन अधिकृत रविन्द्र कुमार अधिकारी, तातोपानी सव-डिभिजन वनका सहायक तेस्रो चन्द्र बहादुर हमाल, प्रहरी प्रतिनिधि उत्तम कुमार बोहरा, राजन कार्की, वडा सदस्य मैद्यनाथ योगी, स्थानीय समाजसेवी सरस्वती पाण्डे र महिला जागरण जुम्लाका संवाददाता तथा पत्रकार निराजन गौतमको उल्लेखनीय सहभागिता रहेको थियो।
सरोकारवालाहरू तथा स्थानीयवासीहरूले रतुवाको सकुशल उद्दार र सुरक्षित स्थानमा पुनःस्थापनामा प्रसन्नता व्यक्त गरेका छन्। 








