जुम्लाका चार जना किसान र कृषर्क समुहलाई पुरस्कार

जुम्लाका चार जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाले मुल्यांकनका आधारमा चार जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले पुरस्कार प्रदान गरेका हुन् ।
किसान तर्फ सिँजा गाउँपालिका ५ का रामसिंह रावल, तातोपानी गाउँपालिका ४ का गंगादेखि न्यौपानेलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपज्ञ उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
कृषक समुहतर्फ कनकासुन्दरी गाँउपालिका ५ स्थित नागरिक अर्गानिक कृषि सहकारी संस्था र हिमा गाउँपालिका १ स्थित महादेव कृषक समुहलाई पुरस्कृत गरिएको छ ।

कृषि सहकारीलाई ५० हजार रुपैयाँ र कृषक समुहलाई ३५ हजार रुपैयाले पुरस्कृत गरिएको हो ।
जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकाले प्रत्येक गाउँपालिकाबाट एक महिला र एक पुरुष किसान मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरेर जिल्लामा पठाउने गरिएकोमा जिल्लाको हिमा र तिला गाउँपालिकाले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट किसानलाई पुरस्कृत गर्न सकेन् । पुरस्कारका लागि किसानले आवदेन नदिएको भन्दै यी दुइ स्थानीय तह पन्छिएका हुन् । सिँजा गाउँपालिकाले एक पुरुष मात्र पुरस्कृत गरेर पठाएको थियो ।
मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारको व्यवस्था स्थानीय तह हुदै जिल्ला र प्रदेश स्तर सम्म हुने गरेको छ । जिल्लाबाट उत्कृष्ट भएका चार जना किसान कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा समेत प्रतिश्पर्धा गर्न पाउनेछन् ।पहिलो पटक जेठ १५ गते सुचना प्रकाशित गरेर पुरस्कारका लागि आवेदन दर्ता गर्न सुचना जारीगरिएको थियो । त्यो अवधिमा किसानले सहभागिता जनाउन सकेनन्,कृषि विकास कार्यालयका छैटौ अधिकृत कमला थापाले भनिन्,‘कोभिड १९ ले पुरस्कारको लागि किसानको सहभागिता हुन दिएन् । दुई पटक सुचना प्रकाशित गर्दा मात्र केही गाउँपालिकाले मात्रै पुरस्कृत गर्न सके । ’स्थानीय तहबाट पुरस्कृत भएर जिल्लामा आएका किसानको हरेक व्यवसायको मुल्यांकन गरेर जिल्लामा पुरस्कारका लागि छनौट गरिएको थियो । मुल्यांकन समितिका सदस्य सचिव विरबहादुर महत पुरस्कृतका लागि छनौट गर्न निकै सकस भएको बताए । उनले भने,‘स्थलगत अनुगमन देखि किसानको रायसुझाव र परामर्शका आधारमा किसानलाई पुरस्कृत गरिएको हो । प्रदेश माताहतको पुरस्कारका लागि लड्न सक्ने किसानलाई जिल्लामा पुरस्कृत गरिएको हो ।

पुरस्कृत भएपछि सिँजा ५ का रामसिंह रावले उत्कृष्ट पुरस्कारले काम गर्ने हौसला मिलेको बताए । मानिसका आधारभुत आवश्यकता गास,वास र कपास मध्ये गास नै आवश्यकता हो । त्यो कृषि संग जोडिएको हुन्छ । रामसिंहले भने,‘जब सम्म मानिसले खान पाउँदैन्,तव सम्म कुनै पनि काम हुन सक्दैन् । खाद्यन्नमा आत्मनिर्भर नहुँदा सम्म संसारका कुनै पनि रंगमञ्चमा अस्तित्व रहँदैन् ।’
पुरस्कार वितरण कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताए । उनले कृषि क्षेत्रमा दिइने अनुदानका कार्यक्रम पनि एक प्रकारले पुरस्कार जस्तै भएको बताए । यो बर्ष पुरस्कृत किसानको बारीमा आन्तरिक तथा बाह्य पर्यटक समेत अवलोकन गर्न सक्ने अवस्था हुनु पर्नेमा जोड दिए ।
कृषि अनुसन्धान केन्द्रका प्रमुख तिर्थराज रिजालले यो पुरस्कारले पुरस्कृत किसानलाई अझ मेहनत गर्न हौस्याएको बताए । उनले भने,‘यो पुरस्कार पुरस्कृत किसानका लागि अवसर र चुनौति दुबै हो ।

किसानले अब आफु बढेर मात्र हुदैन्,समाजलाई अघि बढाउनु पर्ने संकल्प गर्न जरुरी छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की नेपाल कृषि प्रधान देश भनिएता पनि आत्मनिर्भर हुन नसकेको बताउँछन् ।राज्य किसानमैत्री कार्यक्रम ल्याउँदैन् । अनुदानमुखि कार्यक्रम लक्षित किसान सम्म पुग्दैन् । विचौलियाले सबै फाइदा लिन्छन् ।उनले भने,‘यी कार्यक्रम बाठोटाँठोको पोल्टामा मात्र पर्छन् । अव किसानका लागि सफ्ट लोनको व्यवस्था हुन जरुरी छ । ’कृषि कार्यालयका प्रमुख बालकराम देवकोटा जुम्लाका किसान पछिल्लो समयमा निकै लागि परेको बताउँछन् । उनले किसानका हकअधिकारका पक्षमा कृषि कार्यालयले सधंै वकालत गरिएको बताउँदै कृषि मैत्री नीति, योजना र कार्यक्रम गर्न सदैव तयारी अवस्थामा रहेको प्रतिक्रिया दिए । जिल्लामा पुरस्कृत किसान प्रदेश स्तरमा पनि पुरस्कृत हुने अपेक्षा गरेको उनी बताउँछन् ।