कोरोना संक्रमण देखिएपछि जुम्लामा निषेधाज्ञा ,
चन्दननाथ नगरपालिका – ५ को मूल बजार क्षेत्रमा व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट चन्दननाथ नगरपालिका – ५ को मूल बजार क्षेत्रको एक जना महिला व्यवसायीलाई समेत कोरोना भाइरसको संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने “भाइरस स्थानीय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको हो ।”
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा २०७७ असार ३० गते दिँउसो ३ बजे देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ ।
चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी पत्रमा भनिएको छ औषधि पसल स्वास्थ्य सेवा बाहेक अरु सम्पूर्ण क्रियाकलाप पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।
जुम्लामा ६५ जना कोरोना संक्रमित मध्ये ५१ जना निको भएर घर फर्केका छन् । त्यसैगरी अहिले आइसोलेसनमा १४ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । जिल्ला बाहिरबाट आएका यस जिल्लाका ४ हजार ४८६ जनाको पीसीआर परीक्षण भएको जनाएको छ । ४४२ जनाको आरडिटि परीक्षणमा एक जनाको रिपोर्ट भने पोजेटिभ देखिएको थियो ।यसअगाडी गत जेठ २१ गतेदेखि २३ गतेसम्म स्थानीयले लकडाउनको उल्लंघन गरेको भन्दै जुम्ला सदरमुकाम खलङ्गामा तिन दिनको लागि निषेधाज्ञा जारी गरिएको थियो ।








