कर्णालीको असारे विकास : २५ दिनमा साढे २ अर्ब भुक्तानी

कर्णाली प्रदेश सरकारले असार १ देखि २५ गते सम्मको अवधिमा करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी दिएको छ। कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ०७६/७७ को अन्त्यमा असार एक महिनामा मात्र २ अर्ब ४३ करोड ७५ लाख ८० हजार ७५५ रुपैयाँ भुक्तानी भएको छ।  सरकारले बितेका ११ महिनामा ७ अर्ब ५१ करोड ९२ लाख १ हजार ६ सय १७ रुपैयाँ खर्च गरेको थियो। असार २५ सम्म सरकारले ९ अर्ब ९५ करोड ६७ लाख ८२ हजार ३ सय ७२ रुपैयाँ खर्चेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।  ०७६/७७ का लागि प्रदेश सरकारले ३४ अर्ब ३४ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको थियो। चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार विनियोजन गरेकोमा ४०.७६ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड ३२ लाख ४९ हजार ७०५ रुपैयाँ खर्च गरेको छ। यस्तै पुँजीगततर्फ सरकारले २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरेकोमा ४ अर्ब ६३ करोड ३५ लाख ३२ हजार ६६७ अर्थात् २१.७६ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।  आर्थिक वर्षको एघारौं महिना सकिँदासम्म करिब २० प्रतिशत बजेट मात्रै खर्चेको प्रदेश सरकारले असारको २५ दिनमै खर्च प्रतिशत २८.९८ मा पुर्‍याएको प्रदेशस्थित प्रदेश लेखा नियन्त्रक कार्यालयकी सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन्‌।