कोरोना संक्रमित थप तीनको निधन, मृत्यु हुनेको संख्या ३८ पुग्यो

कोरोना संक्रमित थप तीनजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजनाको मृत्यु भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो । उनी फोक्सोमा पानी जमेको र मिर्गाैलाको बिरामी भएर १६ असारमा पाटन अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी काठाडौंको गोकर्णेश्वर नगरपालिका– ४ घर भएका ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हाे । मिर्गौैला रोगी उनमा अस्पताल भर्ना भएपछि श्वास–प्रश्वासमा समस्या देखिएका थियाे । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएकाे छ । उनको २५ असारमा मृत्यु भएको गौतमले बताए ।

सिन्धुपाल्चोकको पाँचपोखरी ६ घर भएका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा २५ असारमै निधन भएको गौतमले जानकारी दिए । क्षयरोगका बिरामी उनी १८ असारमा अस्पताल भर्ना भएका र २२ असारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप तीनजनाको मृत्युसँगै कोरोना संक्रमणबाट हालसम्म निधन हुनेको संख्या ३८ पुगेको छ ।

सम्बन्धित समाचार