कर्णाली प्रदेशको अर्थ समितिद्वारा विकासे आयोजना निरीक्षण


जाजरकोट ।प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो । समितिका सभापति अमरबहादुर थापा, सदस्य वीरबहादुर शाहीलगायतको टोलीद्वारा जिल्लाका पूर्वी क्षेत्रमा रहेका विकासका आयोजनाको निरीक्षण गरिएको हो ।

प्रदेश मातहत कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा भए, गरेका कामको निरीक्षण तथा अनुगमन गरिएको छ । सम्पन्न भनि बजेट भुक्तानी दिइसकेका विकास निर्माणका काममा अनियमितता भएको गुनासो बढेपछि समितिको टोलीले अनुगमन गरेको सभापति थापाले बताए । उनले भने, “प्रदेशबाट वितरण गरिएका सबै कार्यक्रम वितरणमुखी भएको र हुने खानेले मात्र पाएको बुझियो ।” समितिले खानेपानी, सिँचाइ, सडक, कृषिबाली अन्य व्यवसायको अनुगमन गरेको थियो । पूर्वी क्षेत्रमा मात्र दुई दर्जन अयोजना सम्पन्न भएका भनि प्रदेशका कार्यालयले भुक्तानी गरेका थिए ।

त्यस्तै समितिका सदस्य शाहीले भने, “सबै काम खराब भन्न त मिल्दैन, केही कुरामा बदमासी भएको रहेछ, हामी तुरुन्तै सच्याउनका लागि ताकेता गछौँ, यदि समाधान भएन भने त्यसको परिणाम महँगो हुने छ ।” जिल्ला सदरमुकाममा तत्कालीन घरेलु कार्यालयबाट वितरण गरिएका भनिएको अधिकांश सामग्री पुराना भएको तर बिल मात्र नयाँ प्रयोग भएको पाइएको समितिका सभापति थापाले जानकारी दिए।

त्यस्तै सिँचाइ कार्यालयबाट गएको अनुदानबाट नलगाड नगरपालिका–८ कोरिञ्चेमा निर्माण भएको सिँचाइ आयोजनाका सेवाग्राहीले काम सम्पन्न गरे पनि रकम नपाएको खुलासा भएको छ । कार्यालयले उपलब्ध गराएको रकमबाट सिँचाइका पाइप, सिमेन्ट मात्र खरीद गरिएको बाँकी रकम निकासा नहुँदा स्थानीयवासी ऋणमा डबेर योजना सम्पन्न गरेको खुलासा भएको हो । योजनाको झण्डै रु १० लाख भन्दा बढी रकम भुक्तानी नगर्दा कृषकले ऋणमा डुबेको बताएका छन् ।