कर्णालीमा भोलीसम्म मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं । कर्णाली प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मंगलबार सत्तागठबन्धनमा मन्त्रालयको भागबण्डाको टुंगो लगाएसँगै मन्त्रीपरिषद विस्तार हुनलागेको हो ।

सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ । त्यस्तै नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।

२७ पुषमा नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्मासहित एमालेको तर्फबाट विनोदकुमार शाह र माओवादीको तर्फबाट मंगलबहादुर शाहीले २८ पुषमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा प्रदेश सभामार्फत मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए । भोलीसम्म सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेको छ ।

एमालेले मन्त्री छनोट गर्ने जिम्मेवारी दलका नेता यामलाल कँडेललाई दिएको छ भने माओवादीले प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा र प्रदेश अध्यक्ष विमला केसीलाई दिएको छ ।


error: Alert: Content is protected !!