मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

काठमाडौं । मन्त्रीहरूले विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । मन्त्रीहरुले जथाभावी भेट्ने र परराष्ट्र मन्त्रालयमा कुनै रकेर्ड नहुने भएपछि सरकारले अब त्यसमा सुधार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बुधबार पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले अब मन्त्रीहरूले विदेशी प्रतिनिधिसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकमा धेरैजसो निर्णय अर्थमन्त्रालयसँग सम्बन्धित रहेको एक मन्त्रीले जानकारी दिए । सरकारले उखुको मूल्य तोकेको छ । उखुको मूल्यप्रति क्वीन्टल ५४० बनाइएको छ । यसमा सरकारले ७० रुपैयाँ भाडा अनुदान दिनेसमेत निर्णय गरेको छ ।

उपप्रधानमन्त्री पौडेलले क्रसर उद्योगबारेसमेत मन्त्रिपरिषद्मा छलफल भएको जानकारी दिए । उनले क्रसर उद्योगबारे अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए । यस्तै, सरकारले विभूषण वितरणका लागि मापदण्ड बनाउनेसमेत निर्णय भएको छ । मापदण्ड बनाउनका लागि समिति गठन गर्ने निर्णय भएको उनले जानकारी दिए । उनले समितिमा रहेकाहरूको नाम भने खुलाएनन् ।

 

सम्बन्धित समाचार