एकीकृत समाजवादी पोलिटब्युरो बैठकः रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिवदेखि अन्य नेताहरुमाथि कारवाहिको माग उठेको छ । सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाहीको माग उठेको छ ।

सोमबारबाट जारी सो पार्टीको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् ।

मंसिर ४ को निर्वाचनमा भोट हाल्न नजाने १२० जनजाति केन्द्रीय सदस्यसहित नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीमाथि कारबाही गर्नुपर्छ भन्ने धारणा नेताहरूले राखेका छन्’, एक पोलिटब्युरो सदस्यले बैठकमा नेताहरूले राखेको धारणालाई उद्धृत गर्दै भने, ‘भोट हाल्न समेत नजाने नेतामाथि छानबिन हुनुपर्छ र तत्काल कारबाही गर्नुपर्छ ।’

नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको हो । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । त्यस्तै झाँक्रीले पनि एमाले र माओवादीको पैरवी गरेको भन्दै बैठकमा एक पार्टीको जिम्मेवार नेताले अर्को पार्टीको पैरवी गर्न मिल्छ ? भन्दै प्रश्न गरिएको थियो । पार्टीका जिम्मेवार कतिपय नेताहरूले आफूअनुकुल गुटबन्दी गर्ने गरेकाले उनीहरूमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटब्युरो सदस्य दिलु पन्तले बताइन् ।

आजै सकिने बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय समेत गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार