गच्छदारको संसदीय रेकर्डमा भगवतीले लगाएको ब्रेक

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् ।उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी हुन् । गच्छदारले ३५ हजार ६०० मत पाए ।

यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।

२०४८ देखि २०७४ सम्म लगातार प्रत्यक्ष निर्वाचन जितेर सदनमा उपस्थित हुने दुई व्यक्तिमध्ये एक थिए गच्छदार ।

योपटकको निर्वाचनमा भने गच्छदारको लगातार चुनाव जितेर सांसद बन्ने इतिहासलाई शेरबहादुर देउवाले उछिनेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सागर ढकाललाई पराजित गर्दै सातौँपटक शेरबहादुर देउवा सांसद हुँदा भगवती चौधरीसँग पराजित भएपछि गच्छदारको संसदीय राजनीतिको रेकर्डमा ब्रेक लागेको छ ।

भगवती चौधरीलाई पछिल्ला दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार योपटक भने फराकिलो मतले आफैँ पराजित भएका छन् । २०७० को दोस्रो संविधानसभामा ३६२ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले ३२१ मतले भगवतीलाई पराजित गरेका थिए ।

तर, योपटक भने गच्छदारलाई भगवतीले तेस्रोपटकमा पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेकी छन् । यससँगै लामो संसदीय राजनीतिका खेलाडी गच्छदारको रेकर्डमा पनि ब्रेक लगाइदिएकी छिन् ।

 

 

सम्बन्धित समाचार