माधव नेपाल गल्ती सच्याएर एमालेमै आउनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवाद का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्।
आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘उनले भने, ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौं ।’

यस्तै, नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनले दाबी गरेका छन्।
ओलीले गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए।

‘अहिले गठबन्धन गरेकाहरू राजनीतिक दलहरू बिचौलिया हुन्, अब बिचौलियाको जमाना गए,’ उनले भने, ‘अहिलेको निर्वाचनमा पनि एमालेले बहुमत ल्याउँछ र आफ्नो सरकार बनाउँछ।’

अहिलेको निर्वाचनमा एमालेलाई हराउनका लागि देशी–विदेशी प्रतिक्रियावादीहरू मिलेर घेराबन्दी गर्न खोजिरहेको ओलीले बताए।

अहिले एमालेलाई हराउन विदेशी प्रतिक्रियावादीसँग मिलेर देशी प्रतिक्रियावादीहरू लागिपरेका छन्, म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, सय वटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन।’

टालाटुली जोडेर राष्ट्रिय शक्ति निर्माण हुन सक्दैन, गठबन्धनले बनाएको घोषणा पत्रसमेत एउटै छैन। यदि उनीहरूले जितेर सरकार बनाउने हो भने कसको घोषणा पत्र लागु हुन्छ ?,’ ओलीले भने, ‘उनीहरूको बोलीमा पनि एकरूपता छैन, घोषणा पत्रमा भएका कार्यक्रम लागु गर्नका लागि होइन, जनता अलमल्याउनका लागि हो।’

उनले नेकपा एमालेले अहिलेसम्म एउटै घोषणापत्र, एउटै राष्ट्रियताको अभियान, विकासको अभियान, सुशासनको अभियान, समृद्धिको अभियान चलाउँदै आएको बताए।

अध्यक्ष ओलीले आइतबार कालीकोट र दैलेखमा भएका आमसभालाई पनि सम्बोधन गरेका छन्।

सम्बन्धित समाचार