बहुमत ल्याउँछौ, भ्रष्टाचारमुक्त देश बनाउँछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। सोमबार पार्टीको घोषणापत्र सार्वजनिकपछि बैंकर अनिल केसरी शाहसँगको लाइभ डिबेटमा ओलीले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन् ।

उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा गएका छौँ ।’​ प्रत्यक्षतर्फ सय र समानुपातिकतर्फ ५१ प्रतिशत लोकप्रिय मत ल्याएर एमालेले बहुमत प्राप्त गर्ने ओलीको विश्वास थियो । ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ,’ उनी भन्छन्, ‘यस पटक जनता ओइरिएका छन्। राष्ट्रियतामा स्थिरता र स्थायित्वको मिसन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन ।’

ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको भन्दै सरकार नबन्दै षड्यन्त्र भएको बताए । उनले भने, ‘एमालेलाई प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट दिइएको थियो । बहुमतका लागि १३८ सिट चाहिन्थ्यो । हामीसँग १२१ सिट मात्र थियो । हामीसँग मिलेर चुनाव लडेको पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने थियो । पार्टीसँग एकता गरेर बहुमत पुर्‍याइएको हो ।’

०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरुमै गम्भीर षडयन्त्र भएको ओलीको दाबी छ । ‘मङ्सिरमा चुनाव सम्पन्न भए पनि सरकार बनाउन नदिने गम्भीर षडयन्त्र भयो । चुनाव एमालेसँग मिलेर लड्ने र भित्रभित्रै अर्को षडयन्त्र गर्ने अरूसँग मिलेर सरकार बनाउन खोजेर फागुन ३ गतेसम्म सरकार बनाउन दिइएन,’ उनले भने ।

तर त्यो बहुमतको सरकार एमालेले नढालेको उनको जिकिर छ । ‘त्यो सरकार ढालेको एमाले अध्यक्षका हिसाबले वा तत्कालीन प्रधानमन्त्रीका हिसाबले मैले पनि होइन । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन कस कसले भूमिका खेले जगजाहेर छ ,’ ओलीले भने । तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालका कारण संसद् विघटनको परिस्थिति बनेको ओलीको तर्क थियो ।

‘२० ग्यारेन्टीको भुक्तानी दिन्छौँ’

ओलीले एमालेले घोषणापत्र उल्लेख गरेका २० ग्यारेन्टीको भुक्तानी माग्न सकिने बताए । ओलीले भने, ‘एमालेको घोषणापत्र बरफको डल्लो होइन । जो कि बिलाएर जाने । यो एउटा नोट हो । यसमा २० ग्यारेन्टी राखिएको छ । यसको ग्यारेन्टी एमाले हो । हामी हो । त्यो ग्यारेन्टी भुक्तानी गर्न मिल्छ ।’

एमालेले पैसा जस्तै ग्यारेन्टी भएको घोषणापत्र ल्याएको ओलीले दाबी गरे । ‘नोट च्यातिँदा बैंक ग्यारेन्टी हुन्छ । त्यो कागज होइन । पैसाको ग्यारेन्टी राष्ट्र बैँकले लिन्छ । नोट छापेर गभर्नरले हस्ताक्षर गरेको हुन्छ । हाम्रो घोषणापत्रमा पनि हस्ताक्षर गरिएको छ । हामीले त्यो ग्यारेन्टी गरेका छौँ ।’

यसको भुक्तानी जनताले आफूहरूसँग माग्न सक्ने उनले बताए । ‘हामी उत्तरदायी भएर यसको भुक्तानी गर्न तयार छौँ । हाम्रो वचन एक्सनका लागि हो,’ ओली भन्छन् ।

ओलीले अब नेपालीका घर घरमा नेपालमै उत्पादित बिजुली पुर्‍याउने बताए । मैले २०७२ सालमा नाकाबन्दी लागेर काठमाडौँमै दाउराबाट खाना पकाउने बाध्यता भएकाले उक्त कुरा बोलेको थिएँ। अब आयातित ग्यास घर घर पुर्‍याउने होइन हामी विद्युत्मा फोकस हुन्छौँ । अब सवारीसाधन पनि बिजुलीबाट चल्ने चलाउनुपर्छ।’

यस्तै ओलीले आफ्नो नेतृत्वको सरकारले हासिल गरेको उपलब्धिको प्रशंसा गरेको दाबी गरे । केही पार्टी र नेताले एमाले नेतृत्व सरकारको विरोध गरे पनि विश्वले प्रशंसा गरेको उनको भनाइ छ । त्यो प्रशंसा आगामी पाँच वर्षमा फरक नपर्ने गरी स्थापित गर्दै विकासको एक पाइलो अगाडि बढ्ने ओलीले बताए ।

केही पार्टी र नेताले एमाले नेतृत्व सरकारको विरोध गरे पनि विश्वले प्रशंसा गरेको बताए । त्यो प्रशंसा आगामी पाँच वर्षमा फरक नपर्ने गरी स्थापित गर्ने विकासको एक पाइलो अगाडि बढ्ने ओलीले बताए ।

‘अल्पविकसित मुलुकबाट विकासशील देशमा उन्नति गर्‍यौ है भन्नै सबै प्यारामिटरहरु पुरा गर्नेछौँ ।’