नेपालको राजनीतिलाई ओलीले दुर्गन्धित बनाए : घनश्याम भुसाल

काठमाडौं । पूर्वएमाले नेता तथा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाएका छन् । भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै उक्त आरोप लगाएका हुन् । उनले भने, ‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति दुर्गन्धित, धमिलो र फोहोर बनाएका हुन् ।’
भुसाललाइ सत्तारुढ गठबन्धनको समेत समर्थन रहेको छ ।

संसद र संविधानको रक्षाका लागि आफूले पार्टीमा सधैँ संघर्ष गरेको स्मरण गर्दै भुसालले ओलीले अराजनीतिक गतिविधि नगरेको भए मुलुकको राजनीति अहिले अर्कै अवस्थामा पुगिसकेको हुन्थ्यो भन्ने जिकिर गरे । ओलीले पार्टीभित्र व्यक्तिवाद लाद्ने र बाहिर अराजनीतिक गतिविधि गरेका कारण पार्टीमा विभाजन आएको उनको भनाइ छ ।

संविधान निर्माणपछि देश विकास र समृद्धिको दिशामा अघि बढ्न लागेको बेला ओलीले नेपालको राजनीति धमिल्याउने काम गरेको उनको आरोप छ ।
भुसालले आफ्नो उम्मेदवारीले सिङ्गो देशकै ध्यान रुपन्देही–१ मा केन्द्रित भएको पनि चर्चा गरे । रुपन्देही–१ पूर्वाधार विकासमा पछि परेकाले यसको समृद्धिका लागि अब आफूले पहल गर्ने उनले बताए ।

सम्बन्धित समाचार