लाइसेन्स परीक्षाको शंकास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

सुर्खेत : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शंकास्पद भेटिएपछि प्रहरीले एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ परेका हुन्।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको किर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शंकास्पद प्रवेशपत्र भेटिएको थियो।

यातायात कर्मचारीले शंकास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले वीरेन्द्रनगर–७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गर्ने बताए।

‘प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ’, उनले भने, ‘सम्बन्धित कार्यालयकै कर्मचारीले शंकास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ।’

सम्बन्धित समाचार