सिर्जनशीलका दलित महिलाहरुलाई भैसी वितरण

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर १ बांङ्गेसिमलमा भैसी वितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको आर्थिक सहयोग र वीरेन्द्रनगर वडा नम्बर १ को कार्यालय तथा सिर्जनशील कृषक समुह वीरेन्द्रनगर १ को व्यवस्थापनमा कृषक समुहको लागत सहभागितामा भैसी वितरण गरिएको हो ।
५० वटा भैसी वितरण गर्ने कार्यक्रम रहेपनि १२ वटा मात्रै भैसी खरिद गरिएको छ । वाँकी भैसी आपुर्ति हुन नसकेपछि ३८ जनालाई केहि समयपछि वितरण गरिने समुहकी अध्यक्ष रामकला सार्कीले जानकारी दिईन । एभरेष्ट ईन्सुरेन्स कम्पनी लिमिटेडले विमा गरेको भैसीहरु सुदुरपश्चिम प्रदेशको धनगढीबाट ल्याइएपनि ती भैसीहरु भारतबाट आयात गरिएका हुन ।
भैसी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवम वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम सुनारले निकै मेहनत गरेर भैसी ल्याईएको बताउँदै दलितहरुकालागि राखिएको कार्यक्रम बनाउने प्रदेश सरकार र पशुविज्ञ केन्द्र सुर्खेतलाई धन्यवाद दिए । आफु दलित समुदायबाट वडा अध्यक्ष बनेको बताउँदै दलितहरुकै निम्ति यो कार्यक्रम लागु हुनु खुसीको कुरा भएको बताए ।
‘यसले हामीहरुमाथि चुनौतिपनि थपिएको छ, दिनभर गिट्टी कुटेर गुजारा गर्नेहरु अव दुध बेचेर सम्मानित नागरिक बन्नेछन,’ उनले भने । प्राप्त भैसीहरुलाइ तीन बर्षसम्म विक्रि वितरण गर्न नपाईने व्यवस्था वारे जानकारी दिदै अध्यक्ष सुनारले नयाँ पेशा अपनाउँदा आईपर्ने चुनौतीहरुका बारेमा समेत चनाखो रहन आग्रह गरे ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतका कार्यालय प्रमुख कपिलमणि उपाध्यायले सिर्जनशील कृषक समुहबाट भएको काम प्रशसंनीय भएको बताए । ‘यो कार्यक्रम पहिलेको संसद विकास कोष जस्तै हो, हाल यसको निर्वाचन क्षेत्र विशेष कार्यक्रमको रुपमा रहेको छ,’ प्रमुख उपाध्यायले भने ।

वडाअध्यक्ष सुनारको विशेष पहलमा यो कार्यक्रम छनोट भएको जानकारी दिदै उनले भैसी पालन गर्न घाँसको व्यवस्था र रोग लागेमा उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
रामकला सार्कीको सभापत्तित्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ आफ्नो भनाईहरु राख्दै कार्यक्रमको पुर्ण सफलताको कामना गरेका थिए ।