चिङ्गाडमा निशूल्क स्वास्थ्य शिविर

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा चिङ्गाड गाउँपालिकाको समन्वयमा वडा नं. ३ को मटेला स्वास्थ्य चौकीमा आज निःशूल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा करिव ६ सय जनाले स्वास्थ्य जाँच गराएका छन् ।
शिविरमा सामान्य स्वास्थ्य जाँचका साथै रगत तथा पिसाब जाँच, दँन्त परीक्षण गरिएको छ ।
बिरामीहरुलाई विभिन्न ८४ प्रकारका औषधी पनि शिविरमा निःशूल्क वितरण गरिएको छ ।
शिविरमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बरिष्ट कन्सल्टेण्ट स्त्री रोग विशेषज्ञ डा.केशर ढकालसहित डाक्टरहरु कविता थापा र केशव अधिकारीले बिरामीको स्वास्थ्य जाँच गरेका हुन् ।
शिविरको उद्घाटनमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले दूरदराजमा रहेका सबै नागरिक सामू स्वास्थ्य सेवा पु¥याउने सरकारको उद्देश्य अनुरुप शिविरको सञ्चालन गरिएको बताए ।
शिविरले बिशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई टेवा पुग्ने बताउँदै प्रमुख शाहले आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिने बताए ।
चिङ्गाड गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष रेशमबहादुर जि.सी.ले जिल्लाकै विकट स्थानमा आएर शिविर सञ्चालन गरेकोमा धन्यवाद दिँदै यसले आफ्ना सेवाग्राहीमा लाभ पुग्ने बताए ।
बरिष्ट कन्सल्टेण्ट स्त्रीरोग विशेषज्ञ डा. केशर ढकालले सबै नागरिकलाई बिशेषज्ञ सेवा दिने राज्यको नीति भएपनि पूरा हुन नसकिरहेको बेला दूरदराजमा आएर शिविरमार्फत सेवा गर्न पाउँदा आफू खुशी भएको बताए ।
गाउँमै शिविर सञ्चालन भएपछि विशेषगरी सदरमुकाम आउन नसक्ने ज्येष्ठ नागरिक, महिला, बालबालिका र विपन्न समुदायलाई सहयोग पुगेको छ ।
वडा नं. ४ की ७२ बर्षीय रुपकली वि.क.ले आफ्नै गाउँमा डाक्टरहरुसंग जाँच गराउन पाउँदा खुशी व्यक्त गरिन ।
शिविरमा स्वास्थ्य जाँच गराउनेहरुमा धेरै जसो पाठेघरको संक्रमण, नसा सम्बन्धी रोग, रक्तश्राव, पेट दुख्ने जस्ता समस्या देखिएको स्वास्थ्य कार्यालयका अमर रानाले जानकारी दिए ।








