जुम्लामा चुनावी गठबन्धन प्रति बहुमत काँग्रेसको असहमति

जुम्ला ः जुम्लामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गर्ने विषयमा कांग्रेस विभाजित देखिएको छ । नेपाली कांग्रेसका सभापति कर्णबहादुर शाही संयोजकत्वमा रहेको कार्यदलले स्थानीय तहमा तालमेल गरेर जाने सहमति गरेको एक दिन बित्न नपाउँदै कांग्रेसभित्रै विभाजित प्रेस विज्ञप्ति आएको हो ।

सभापति एक्लैलै तालमेल गरेर जाने भन्दै कार्यदल बनाएर अघि बढेको भए पनि जिल्ला कार्यसमितिमा सबै पदाधिकारीले तालमेलको अर्थ नहुने भन्दै सभापति शाहीको एकाधिकार नमान्ने बताएउदै प्रस बिज्ञप्ती निकालेका हन । उनीहरुले कांग्रेस सभापतिको संयोजकत्वमा बसेको कार्यदलको बैठकले तालमेल गर्न गरेको निर्णयको औचित्य नरहेको बताएका छन् ।
एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको निर्देशनले स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्न सकिने भनिएको भएपनि सभापतिले आन्तरिक छलफल नगरेर एकल निर्णय गरेर अघि बढ्नु राम्रो नभएको बताएका छन ।

उक्त विज्ञप्तिमा भनिएको छ–‘जिल्लाका ६० वटा वडा सभापति, ८ वटा पालिका सभापति, दुई वटा क्षेत्रीय सभापति, जिल्ला कार्य समितिका ७ वटा पदाधिकारीसहित ७७ जनाले गठबन्धन नगर्ने राय दिएर सर्वसम्मत निर्णय भइसकेको छ । निर्णयको मर्म र भावना विपरीत सभापति शाहीले पार्टीभित्र आन्तरिक छलफल नगरी एकल रुपमा गठबन्धन

दलहरुसँग बैठक बसेर तालमेल गर्ने निर्णय गरेको प्रति गम्भीर आपत्तिसहित असहमति छ ।’
विज्ञप्तिमा उपसभापति कार्मा बुढा, दिपक शाही, सचिव लक्ष्मण शाही, अर्जुनसिंह कठायत, सहसचिव नन्दप्रसाद चौलागाईं, धनेन्द्र बोहोरा, क्षेत्रीय सभापति लछिमान बोहोरा र कालीबहादुर बुढाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।’