जुम्लाका जनप्रतिनिधिको पाँच वर्ष : आठै पालिकाका सबै वडा सडक सञ्जालमा जोडिए
जुम्लाः जुम्लाका जनप्रतिनिधिको कार्यवधि सडक निमार्णमै बितेको छ । जुम्लाका एक नगरपालिका सहित ८ स्थानीय तहमा जनप्रतिनिधिको बहाली पश्चात पहिलो कार्यक्रमको सडक निमार्णकै लागी प्रथामिकता थियो । धेरै बजेट सडकमा थियो । सबै स्थानीय तहले कृषि, पर्यटन, शिक्षा स्वास्थ्य पहिलो नारा बनाएका थिए ।
जुम्लाको सदरमुकाम खलंगा सहित कर्णाली राजमार्गले छोएका केही गाउँठाउँ राष्ट्यि सडक सञ्जाल सँग २०६३ सालमा जोडिए पनि अधिकांश यहाँका गाउँबस्ती सडक सञ्जालमा जोडिएका थिएनन् ।
सडक विकासपछि मात्रै अन्य विकासको ढोका खुल्ने भन्दै स्थानीय तहका जनप्रतिनिधिले पहिलो वर्षदेखि नै सडक सहितको पूर्वाधार विकासलाई प्रथामिकतामा राखेका बताएका छन ।
अहिले जुम्लाका ८ वटै स्थानीय तहका मुकाम सडक सञ्जालसंग जोडिएका छन् । तर केही गाउँठाउँमा अझै पनि गाडी गुडन सकेका छैनन । संघीयतापछिका पहिलो जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा सडक नपुग्ने देखिएको छ ।
भौगोलिक रूपले विकट गाउँबस्तीमा यातायातको पहुँच पुराउने उद्देश्यले सडक निर्माणलाई जोड दिँदै आएका हुन् । बितेको चार वर्षमा जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक निर्माण भएका छन् । यद्यपि, सडक निर्माण भएका अधिकांश वडामा अझै यातायातको पहुँच पुगेको छैन ।
त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले चार वर्षमा झण्डै ७३ किलोमिटर सडक निर्माण गरेको छ । पालिकाका ८ वटै वडामा सडक सञ्जाल पु¥याइ यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले करोडौँ रकम खर्चेर चार वर्षमा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नं. ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नंं २ जर्मी, बाबिरा,डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर मात्रै सडक निर्माण भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले भने भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नंं ७ मा ७ दशमलव २८ किमी, वडा नंं. ८ मा ९ दशमलव ६७ किमी सडक निर्माण भएको छ ।भने, वडा नं. १ राँका बाइराँकामा ९ दशमलव २१ किमी, वडा नंं. ३ लिताकोटमा ६ दशमलव ९१ किमी, वडा नंं. ५ मा ९ दशमलव ५७ किमी र वडा नंं. ६ मा ७ दशमलव ७ किमी गरी जम्मा ७३ दशमलव ३ किमी सडक निर्माण भएको छ ।
उनले भने, “पालिकाको विकट क्षेत्र भनेको भेरीखोला हो । ८ नम्बर वडाको थलाले गाउँ बाहेक अन्य गाउँ सडक पहुँचमा पुगेका छन् । चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा बाटो निर्माण गरिने छ।”
गाउँ गाउँमा सडक पुगेका छन् । कतै फिनिसिङ हुन बाँकी छ । भने केही ठाउँमा स्तरवृद्धि गर्ने कार्यक्रम रहेको छ । गाउँका कृषि उत्पादनलाई बजार सम्म पु¥याउने र स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको तातोपानी गाउँपालिकाले जनाएको छ ।
सडक नै गाउँ गाउँमा सडक निर्माण गरिए पनि तिला नदीमाथि पुल निर्माण नभएका कारण गाउँमा अझै यातायात पहुँच पुग्न समय लाग्ने देखिन्छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,“पालिकाको लगानीमा पक्की पुल निर्माण सम्भव छैन । हामीले आधारभूत विकास गरिरहेका छौ ।पुल निर्माणका लागि सङ्घ प्रदेशमा धाइरहेका छौ ।ढिलो चाँडो गाउँ गाउँमा गाडी पुग्छन् ।
सडक निर्माण गरेर यातायात पहुँच नपुगेले चाँडो स्तरवृद्धि गरेर छिटै गाडी गुडाउन स्थानीयले माग गरेका छन् । सडक पुगेपनि अझै कृषि उत्पादन थन्कीएको यातायात पहुँच नहुँदा बजार नपाएको स्थानीय लोक बहादुर दमाईको गुनासो छ ।
यस्तै हिमा गाउँपालिकाले चार वर्षको अवधिमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको बताएको छ ।भौगोलिक रूपमा विकट हिमा गाउँपालिकाका ७ वटै वडाका साढे ३ दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले धेरै रकम लगानी गरेर ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने, पालिकाका सबै बस्तीमा सडक पुगे पनि गाडी गुड्न भने बाँकी छ ।
त्यस्तै हिमा पालिकाका प्राविधिक प्रवेश देवकोटाले भने चार वर्षमा निर्माण भएको करिब ५७ किमि सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसिसी भइरहेको छ ।
हिमागाउपालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा दियार गाउँ हुँदै मोफ्लासम्म १५ किलोमिटर, पाथखोला हुँदै कालीकोट जोड्ने सडक ५ किलोमिटर, भूगोलपाटादेखि बुअ गाउँसम्म २ दशमलव ५ किलोमिटर, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किलोमिटर निर्माण भएको छ ।
त्यस्तै, बड्कीगाउ हुँदै जोगीबाडासम्म १ दशमलव ५ किलोमिटर, बड्की हुँदै ओदीसम्म १२ किलोमिटर, सेरगाउँ पिगीसम्म १ किलोमिटर र कुडु बन्चरीकाँडा–च्यामेले खर्कसम्म ३ किलोमिटर गरी जम्मा करिब ५७ किमि ग्रामीण सडक निर्माण भएको छ ।
सेरगाउँ–पिगीसम्म थप ३ दशमलव ८ किलोमिटर र जोगीबाडा–च्याल्से हुँदै च्यामा जोड्ने ५ किलोमिटर सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको प्राविधिक देवकोटाले जानकारी दिए । ओदी गाउँदेखि नेत्रज्योति माविसम्मको ४ सय ८० मिटर बाटो आरसिसी भएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताए । उनले भने, पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर कार्यकाल अवधिभर गाउँमा गाडी पु¥याउने लक्ष्य राखेका छौँ ।’
मोटरबाटोबिना गाउँका कृषि उत्पादनले बजार नपाउने, स्थानीयको जीविकोपार्जनमा सुधार नआउने भएकाले सडक विकासमा जोड दिइएको उनले बताए । उनले भने, ‘अब गाउँमा पुगेका सडकलाई आर्थिक समृद्धिसँग जोड्न थप लगानी गर्न पालिका तयार छ ।’
त्यस्तै जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन ।
तिला गाउँपालिका वडा नम्बर १ रारालिहिस्थित तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् । वडा नम्बर ९ मालापानी गाउँका स्थानीय मानबहादुर बुढाले भने, ‘स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ ।’
अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चर र मानिसको पिठ्युँ नै हुन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ ।गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन् ।
यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि नै भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पु¥याएको हो । झन्डै ५ करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ ।
यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ ।
२ वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ । तिलागाउपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि ठानेका छौँ । सडकले गर्दा दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुने छ ।
यो पालिकाको उपलब्धि हो ।’ गाउँमा सडक पुगिसकेकाले केही समयपछि तिला नदीमा पुले निर्माण हुने उनले बताइन् ।









