जुम्लाका सिँजाली महिला सेनेटरी प्याड निर्माणमा जुट्दै

खलङ्गा : जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन् । यहाँका अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि आफ्नै गाउँबस्तीमा रहेको स्रोत साधनबाट आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेको स्थानीयवासी लक्ष्मी घर्तीले बताइन ।

घरेलु तरिकाबाट सेनेटरी प्याड बनाउँदै आएका छौँ । बजारदेखि खरिद गरेर लिएको प्याडभन्दा पनि गाउँमै आफैँले बनाएको प्याड प्रभावकारी भएको यहाँका स्थानीय महिला बताउँछन् । “पहिले प्याडको प्रयोग गर्नेबारे जानकारी नहुँदा महिनावारी हुँदा समस्या हुने गरेको थियो । अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौँ”, स्थानीयवासी जमुना चौलागाईंले भनिन, “प्याड किन्नु पर्दैन, बरु कहीँकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्नेसम्मको काम भएको छ ।”

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित खानेपानी सरसरफाइ स्वच्छता उत्थानशील परियोजनाअन्तर्गत दुईदिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको सिञ्जाका महिला बताउँछन् । समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपमूलक तालिम दिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।

बालबालिकालाई पौष्टिक आहार

कुपोषण दरलाई न्यूनीकरण गर्नका लागि जुम्लाको पातारासी गाउँपालिका–३ का ५ वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि पौष्टिक आहार वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक भेषबहादुर रावलले बताए । उनले भने, “स्टार्ड फन्डको सहयोग, किर्डाक नेपाल जुम्ला र मर्सिकोर नेपालको साझेदारीमा पौष्टिक आहार वितरण गरिएको हो ।

प्रतिबालबालिकालाई दुई केजी मिक्स खिचडी, दुई केजी हलुवा र दुई केजी स्पेसल खिरको प्याकेट पौष्टिक आहारका रुपमा वितरण गरिएको छ ।” स्थानीय सरकारले सिफारिस गरेका विपन्न परिवारका पाँच वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको संयोजक रावलले बताए ।

एकजना बालबालिकालाई  रु दुई हजार बराबरका पौष्टिक आहार उपलब्ध गराइएको छ । बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार गर्दै कुपोषण दरलाई न्यूनीकरण गर्ने प्रमुख उद्देश्य सो सामग्री प्रदान गरिएको किर्डाक जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार