कर्णालीमा माओवादीले गरेको ऐतिहासिक निर्णय

महिलाका लागि उदाहरण बनिन् विमला केसी

काठमाडौं :  रगतको खोलोसँगै राजतन्त्रलाई बगाएको त्यो युद्ध सित्तैँ थिएन ।  त्यो बलिदान सित्तैँ थिएन । त्यो त्याग सित्तैँ थिएन । त्यो तपस्या सित्तैँ थिएन । जतिबेला हजारौं आमाको कोख रित्तियो । हजारौं चेलीको सिउँदो मुछियो ।

अधिकार प्राप्तिका लागि । विभेद मुक्तिका लागि । सभ्य समाज निर्माणका लागि । कानुन निर्माणका लागि । छातिमा गोली खाए । बलिदान दिए । सहीद भए । परिवार टुहुरो पारे । हजारौंले परिवर्तनका लागि रगतको खोलो मात्रै बगाएनन निरंकुश शासकलाई सत्ताबाट लखेटे ।

जसकाकारण नेपालमा गणतन्त्रको स्थापना भयो ।  त्यसको नेतृत्व माओवादी केन्द्रले गरेको हो भन्न दुई मत छैन । २०५२ सालदेखि सुरु गरिएको १० वर्षे युद्धले नै निरंकुश सत्ता र शासकलाई घुँडा मात्रै टेकाएन सत्ता समेत कब्जा गर्यो ।

त्यहीँ युद्ध । त्यहीँ संघर्ष । त्यहीँ त्याग । त्यहीँ तपस्या  । त्यहीँ गोली । त्यहीँ सपनाबीच  राजनीतिमा होमिएकी एक योद्धा हुन् विमला केसी । उनी बुधबार कर्णाली प्रदेशको अध्यक्षमा चयन भएकी छन्   ।

मंगलबार कर्णालीमा २ सय ११ जना प्रदेश समिति सदस्य सर्वसम्मत चयन गरियो । उक्त समितिको बैठकबाटै बुधबार अध्यक्षमा केसी चयन  भएकी हुन् ।

No description available.

महेन्द्र शाही नेतृत्वको सरकारका पालामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी विमला केसी रुकुम पश्चिमबाट कर्णाली सरकारमा प्रतिनिधित्व गर्छिन्  ।

उनले कर्णालीको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भनेको कर्णालीका महिलाका लागि उदाहरण  पनि हो । र, माओवादी केन्द्रले कर्णालीमा गरेको यो निर्णय ऐतिहासिक हो भन्न मिल्छ ।

प्रदेशको पहिलो अधिवशेनबाट पहिलो अध्यक्षको नेतृत्व गर्ने जिम्मा महिलालाई दिइएको छ ।  झनै नेतृत्व चयन प्रक्रियाको रस्साकस्सीबीच महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने कुराको उदाहरण विमला केसीले दिएकी छन्  ।

यसले सधैं भान्साखण्ड र डोको नाम्लोको हिस्सामा राखिएकी कर्णालीका महिलालाई उर्जा मात्रै थपेन नेतृत्व गर्ने इच्छाशक्ति पनि जगाएको छ ।

यो उर्जालाई प्रयोग गर्ने, कर्णालीमा माओवादी केन्द्रलाई बलियो बनाउने, माओवादी किल्ला गाउने जिम्मा विमला केसीको हातमा छ । साथमा छ  । काँधमा छ । उनले कस्तो नेतृत्व गर्छिन् हेर्न बाँकी छ ।

कर्णालीमा  माओवादी केन्द्रको प्रदेश  अधिवेशन सम्पन्न भए पनि अध्यक्ष र सदस्य बाहेक अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको छैन । बैठक जारी छ ।  नेतृत्व सर्वसम्मत चयन गर्ने प्रक्रिया चलिरहेको छ । कर्णाली खवरबाट सभार