कर्णालीमा माओवादीको सम्मेलन खर्च प्रतिनिधिबाटै

प्रतिनिधिबाट मात्रै १४ लाख ४३ हजार रुपैयाँ संकलन हुने

शनिबारदेखि नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ सुरू भएको छ । माओवादीको सम्मेलन प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा सुरू भएको हो ।

उक्त सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल मार्फत् गरेका हुन् । माओवादी केन्द्रको प्रदेश सम्मेलनमा कुल नौसय ६२ जना प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिहरुका सहयोग, शुभेच्छुक, आमन्त्रित र सल्लाहकारसहित सम्मेलनमा झण्डै पाँचसय बढी सहभागी हुनेछन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा लाखौं रकम खर्च हुने अनुमान छ ।सोहीकारण माओवादीले खर्च व्यवस्थापन गर्न प्रतिनिधिबाटै प्रवेश शुल्क उठाइने जनाएको छ । प्रत्येक व्यक्तिबाट एक हजार पाँचसयका दरले प्रवेश शुल्क उठाइने छ । प्रतिनिधिबाट मात्रै १४ लाख ४३ हजार रुपैयाँ संकलन हुनेछ ।

बाँकी रकम भने प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभाका सदस्य तथा लाभको पदमा पुगेका शुभेच्छुकबाट संकल गर्ने माओवादीले जनाएको छ । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।