डोल्पामा पूजाको विषयलाई लिएर झडप, घाइतेको हेलिकोप्टरबाट उद्धार

जाजरकोट :  डोल्पाको कागकोटमा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

 

 

जिल्लाको छार्काताङसोङ गाउँपालिकाअन्तर्गत पर्ने वडा नं ४ कागकोटमा आइतबार दिउँसो झडप भएको हो।

झडपपछि भागाभाग गर्ने क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाय लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

डिएसपी पाण्डेका अनुसार गुम्बाको पूजा एक समूहले पहिला गरेको भन्दै अर्को समूहले झगडाको सुरुवात गरेको र सोही क्रममा भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएको बताए।

टाउकोमा चोट लागेर गम्भीर घाइते पेमा छुजुङ रोकायालाई फिष्टेल यएरको हेलिकोप्टरबाट जिल्ला अस्पतालमा ल्याई उपचार गराए पनि टाउकोमा गम्भीर चोट भएकोले काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।

घाइते ४ जनामध्ये एकको अवस्था गम्भीर भए पनि  तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार