पातारासीका सबै गाउँमा सडक पुग्दा स्थानिय उत्साहित
जुम्ला ःसबै बस्तीमा सडक पुग्दा पातारासी ३ छुम गाउँका कालीबहादुर महतारा उत्साहित भएका छन। जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको हो । सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको स्थानिय महताराले बताए । अहिले जुम्ला सदरमुकाम खलंगा देखि दुई बस र चार वटा जीप सञ्चालनमा छन। सवारीसाधनको आवागमन संगै यहाँका नागरिकले घण्टौँ सम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता हटेको छ।
सडक जोडिएपछि यहाँका नागरिक निकै खुसी भएका हुन ।यहाँबाट राराजाने पर्यटकलाई समेत असर परिरहेको छ। उनले भने,‘गाउँमा सडक पुग्नु मात्र ठुलो कुरो होइन। सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो। ’अहिले व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न पुग्छन्।
सदरमुकाम देखि उर्थुचौतारा सम्म त अटो रिक्सा समेत चल्छन। सडक पुगेको भएपनि कच्ची सडकका कारण वर्षातको बेला यातायात सञ्चालनमा असहजता आउने गरेको ना ४ ख ८३२४ नम्बरका गाडी चालक कृष्ण बिष्ट बताउँछन्। उनले भने,‘पातारासीको गाउँबस्ती सम्म सडक पुगेको छ। जसले यहाँका नागरिकलाई आवतजावत गर्न निकै सहज छ। बिरामीलाई एम्बुलेन्सबाट ल्याउन सकिन्छ।
गाउगाउमा सडकत पुग्यो तर निकै साँघुरो छ। बाइकलाई साइड दिन पनि पुग्दैन। जोखिम मोलेर यातायात सेवा दिइरहेको चालक बिष्ट बताउँछन्। उनका अनुुसार सदरमुकाम खलंगा देखि पातारासीको पेरे गाउँ सम्म २५० गाडी भाडा लाग्छ। गाडी सहज रुपमा सञ्चालनको लागि पातारासी गाउँपालिकाले ध्यान दिन जरुरी छ।
रानारावत र उर्थु गाउँ सडक जोखिमपुर्ण
चन्दननाथ नगरपालिकाको रानारावत र उर्थु गाउँ नजिकै सडक निकै जोखिमपुर्ण छ। पहिले बाटो राम्रो थियो,यात्रा सहज थियो। अहिले स्तरउन्नतीको लागि ठेकेदारले जिम्मेवारी लिएपछि सडक अस्तव्यस्त बन्यो। बनाएका संरचना ध्वस्त भइसके। चालक कृष्णले भने,‘तत्काल सडक स्तरउन्नती गरेर यातायात सेवा सञ्चालनमा ल्याउन जरुरी छ। अनिमात्र यहाँको यातायात सेवा सहज हुनेछ। ’ गाडी सञ्चालनको लागि रुटप्रमिट पनि छैन। यो सडक उर्थु हुदै राराताल जोड्ने सडक भएकोले स्तरउन्नती आवश्यक छ। पातारासी गाउँपालिकामा १६ वटा गाउँछन। सबै गाउँमा गाडी पुगेको छ। एम्बुलेन्स सबै गाउँमा पुग्छ,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने,‘सडक स्तरबृद्धि गर्न बाँकी छ। यो पनि चालु आर्थिक वर्षभित्रै काम सुरु हुन्छ। ’
स्थानिय सरकारले गाउगाउमा बाटो ल्यायो
स्थानीयतह आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठुलो उपलब्धि भएको त्यहाका स्थानियको भनाइछ । दुरदराजमा उत्पादित फलफुल अन्नपात सबै बजार सम्म ल्याउज सहज बनेको छ । स्थानिय सरकार आएपछि यहाका जनताले गाडी चढ्न पाएका छन । यो पातारासीगाउपालिकाको उपलब्धी हो । गाउँमा सडक पुग्यो। आवतजावतमा सहज भयो। यहाँ उत्पादित बस्तु बजारीकरण गर्न समस्या भएन। यही उपलब्धि हो। सडक स्तरउन्नतीको लागि प्रदेश सरकार समन्वय गर्न। स्थानीय सरकार लागेको छ। ’जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले गाउँमा गाडी पुगेपछि यहाँका किसानको जीवनशैली फेरिएको बताए। उनले भने,‘यहाँका किसान कृषिजन्य बस्तु उत्पादन गरेर आर्थिक समृद्धि हासिल गर्ने भइसकेका छन। सडकबाट ढुवानी गरेर सहजै बजार पुर्याउने अवस्था छ। ’
यो सडक जुम्लाको राराताल र डोल्पा जोड्ने भएकोले कर्णाली प्रदेश सरकारले पनि प्राथमिकताका साथ ध्यान दिनु पर्नेमा जोड दिए। त्यस्तै गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महताराले गाउँगाउँमा सडक पुर्याउन सफल भएको बताइन । उनले भनिन्,‘सडक आर्थिक समृद्धिको पहिलो आधार हो। सडक सबै वस्तीमा पुग्यो।अब विद्युतको आवश्यक छ। गाउमा सडक पुगे संगै गाउँमा पक्की संरचना निर्माण हुन थालेका छन्। सरकारी संरचाना बनाउनको पनि सहज भएको हो। पातारासी स्याउ,सिमी,ओखर लगायतका फलफुलत तथा तरकारीको लागी पकेट क्षेत्रपनि हो ।








