सिमकोटमा विद्युत सेवा अवरुद्ध

सिमकोट : हिल्दुम साना जलविद्युत आयोजनाको नहर पहिरोले बगाउँदा सदरमुकाम सिमकोट समेत दुई वटा गाउँपालिकाको विद्युत सेवा अवरुद्ध भएको छ। बिहीबार बिहान गएको पहिरोले फर्बे नजिकको नहर बगाएपछि विद्युट आपुर्ति अवरोध भएको हो ।

आयोजनाको पहिरो गएको स्थलमा रहेका हिल्दुम विद्युत केन्द्रका प्रमुख साजन ऐडीले  फर्बे ट्याङ्की नजिकको नहर पहिरोले बगाउँदा विद्युत सेवा अवरुद्ध भएको बताए ।  करिब पाँच मिटर नहर पहिरोले बगाएको कारण पानी पावर हाउसमा आउने अवस्था नरहँदा विद्युत अवरुद्ध भएको उनले भने ।

प्राविधिकसहित पहिरो गएको स्थलमा रहेका प्रमुख ऐडीले तत्काल केही गर्न सक्ने अबस्था नदेखिएको कारण कति दिन विद्युत सेवा अवरुद्ध हुन्छ भन्ने भन्न नसकिने उनले बताए । त्योसँगै ‘ओभर फ्लो’को पाइप पनि पहिरोले बगाएको केन्द्रले जनाएको छ । तत्काल मर्मत गर्न सकिने अवस्था ज्यादै न्यून रहेको जनाइएको छ ।

डेढ घण्टा टाढाको दुरीमा रहेको पहिरो गएको स्थलमा अनुगमन र मर्मतका लागि सदरमुकाम सिमकोटबाट सशस्त्र प्रहरीको टोली जान लागेको छ । केन्द्रका हाल दुई हजार तीन सय ग्राहकहरु रहेका छन् ।