पञ्चपुरीबाट कामदार लैजाने भन्दै कोरियन सक्रिय

सुर्खेत ।
पछिल्लो समय विभिन्न वहानामा नेपाली युवाहरुलाई बैदेशिक रोजगारी दिने भन्दै लैजान खोज्नेहरुको विगविगी रहेको छ । यसैक्रममा सुर्खेतको पश्चिम क्षेत्रका बेरोजगार युवायुवतीहरुलाई कोरिया लैजाने भन्दै एक कोरियन महिला सुर्खेतमा सक्रिय भएको खुलेको छ । विभिन्न राजनैतिक दल आवद्ध युवाहरुलाई सुर्खेतको पश्चिममा रहेको पञ्चपुरी नगरपालिकाले ति कोरियन नागरिकसंग साठगाठ गरी युवाहरु विदेश पठाउन सम्झौता गरेको खुलेको छ ।
स्रोतका अनुसार छनोट गरिएका साढे ३ सय युवाहरुलाई भारतको बाटो हुदै कोरिया पु¥याउन लागिएको छ । यसमा पञ्चपुरी नगरपालिकाको प्रत्यक्ष संलग्नता रहेको खुलेको छ । कोरिया जान पाउने सुवर्ण अवसर भन्दै नगरपालिका आफैले एक रेडियोमा विज्ञापन गरेर युवाहरुलाई आवेदन दिन आग्रह गरेको थियो । सुचनामा निशुल्क पठाउने भनेपनि हाल फारम भरेका व्यक्तिहरुसंग प्रतिव्यक्ति १ लाखका दरले रकम उठाईएको छ । छनौट भएका भनिएका अधिकांश व्यक्तिसंग रकम उठाईसकिएको छ । तर यसबारेमा सुर्खेतमै रहेको श्रम कार्यालय भने आवश्यक प्रक्रिया पुरा नभएको जानकारी दिएको छ ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख सुनिताकुमारी दर्लामीले पञ्चपुुरी नगरपालिकाले आफ्नो कार्यालयमा सो व्यहोराको पत्र पठाएको तर श्रम सम्झौताकालागि प्रक्रिया नपु¥याएको र श्रम सम्झौता नगरेको बताईन । उनका अनुसार नगरपालिकाबाट प्राप्त पत्र आवश्यक प्रक्रियाकालागि विभागका पठाईएको जानकारी दिईन ।
कोरिया जान पाउने आशामा फारम भरेका युवाहरु अब कहिले जान पाईएला भनेर बसेका छन । उनीहरुलाई कुन तरिकाले कोरिया लैजाने निश्चित भएको छैन । कोरिया लैजाने चाजोपाजो मिलाउने गरेकी भनिएकी मिलि अहिले सम्पर्क बाहिर छिन । तर स्थानिय रुपमा कामदार पठाउने व्यवस्था मिलाईरहेका युवराज गिरीले उनी यही कामकालागि कोरिया रहेको जानकारी दिए ।
गिरीका अनुसार कोरियाको फोचन नगरपालिकाले पञ्चपुरी नगरपालिकासंग कृषिमा काम गर्नेगरी मौसमी प्रशिक्षार्थी कामदारकोलागि माग गरेको बताए ।उनले भने, ‘मिलि म्याम अहिले सबै प्रक्रिया मिलाउन कोरिया जानुभएको छ । उहाँ अबको १ हप्तापछि नेपाल आउनुहुन्छ र बाँकी प्रक्रिया पुरा हुन्छ अनि आवेदकहरु कोरिया जान्छन ।’ उनले थपे, पहिले प्रदेश सरकारको मुख्यमन्त्री कार्यलयमा पत्र पठाईयो, उसले संघिय मामिला मन्त्रालयमा पठायो र त्यसपछि संघीय मामिलाले श्रम तथा रोजगार कार्यालयमा पठाएको छ । अहिले परराष्ट्रमा गएर रोकिएको छ ,त्यो छिटै हुन्छ होला ।
यसबारेमा कोरिया जान भनि सबै प्रक्रिया पुरागरी रकम समेत बुझाईसकेका एक युवाले भने, पहिले ३ महिना सम्मकालागि भनेर निशुल्क आवेदन लिईयो र पछि अहिले प्रतिव्यक्ति १ लाख रकम लिएको बताए ।
युवाहरुलाई कोरिया लैजाने अभियानमा सुर्खेत पश्चिमका दुईजनाले सघाईरहेको खुलेको छ । स्थानीय स्तरमा उनीहरुले सबै युवाहरुलाई जम्मा गर्ने र नगरपालिकासंग समन्वय गराईदिने काम गरेका छन । उनीहरु पहिले ईपिएस भाषा पास गरेर कोरिया गईसकेका बताईएको छ ।
रकम जम्मा गरेर कहिले जान पाईएला भनि बाटो हेरिरहेका युवाहरु भने पछिल्लो समय तर्सित बनेका छन । श्रम अनुमति दिएको हो की होईन ? कोरियन भनिएकी उनी कस्तो महिला हुन ? विस्तृत जानकारी नै नपाई कोरिया जाने आशामा बसेका युवाहरु अहिले निराश छन । नाम उल्लेख नगर्ने सर्तमा एक युवाले भने पहिले ८० हजार भन्यो, फेरी १ लाख माग्दैछ , कहिले हो उड्ने टुगाें छैन ।
त्यस्तै,अर्का एक आवेदकले भने, ‘पहिले पलैटेमा स्वास्थ परिक्षण मात्र गरेपुग्छ भनेकाले पलैटेमा स्वास्थ परिक्षण गरियो,अहिले फेरी काठमाण्डौमा गएर टिभी परिक्षण गर्नुपर्छ भनेका छन ।’
उनले कोरिया जान पाउने या नपाउने वारे आफु अन्यौलामा रहेको बताउदै भने , ‘माथिल्लो निकायहरुमा प्रक्रिया भैरहेको छ भन्ने सुनेका छौ , खै के हुन्छ । ’ पहिले नगरपालिकाले आफैले सुचना प्रकाशित गरी अग्रसरता देखाएपनि आजकाल वास्ता गर्न छोडेको उनको गुनासो रहेको छ ।
उनले आफुलाई आएको मौखिक जानकारी अनुसार शुरुमा तीन महिनासम्म कोरिया बस्ने कुरा थियो , फेरी अहिले पैसा थप्नुप¥यो भन्दै पैसा थप्दा २ महिना अरु बस्न पाईने भनिएको छ । कुरा सुन्दा अलि लफडा हुनेजस्तो देखिन्छ ।
यो कार्यक्रम अन्र्तगत पहिलो चरणमा १ सय ४५ जना लिने र उनीहरु कोरिया पुगिसकेपछि फेरी दोस्रो चरणमा उत्तिकै आवेदकहरु लिने आफुहरुलाई जानकारी दिएको पैसा बुझाएका एक युवकले बताए ।
यता पञ्चपपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले आफुले नगरपालिका बाट यस्तो अनुमति दिन नसक्ने भएकाले कर्णाली प्रदेश सरकारलाई पत्र पठाएको र प्रदेश सरकारले माथिल्लो निकायहरुसंग यस विषयमा आवश्यक प्रक्रियाकालागि कुरा गरिरहेको बताए ।
उनले भने, कानुन मन्त्रालयसंग पनि अनुमति बारे छलफल गर्नुपर्ने भएकाले अझै प्रक्रिया केहि समय लम्बिन सक्छ । बेमौसमी तालिमदार भनेर लिने कुरा भएको छ । आवेदकहरुसंग पैसापनि मागिरहेको जानकारीमा आएपछि मैले सबै कुरा ढुक्क भएपछि मात्र पैसा दिन सुझाव दिएको छु ।
कामदार पनि भनिएको छैन, बेमौसमी तालिमदार भनिएको छ । जिवन विमा र तलबको फिक्स भएपछि मात्र पैसा दिनु भनेर आफुले सबैलाई भनेको उनले बताए । आधिकारीक मान्छे नआएसम्म पैसा भुक्तानी समेत नगर्न उनले सबैमा अनुरोध गरेका छन ।(सिद्धदर्शन दैनिकमा समाचार छ ।)








