कोरोना रोकथाम तथा नियन्त्रणका नाममा जथभावी रकम संकलन नगर्न प्रशासनको आग्रह

जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना रोकथाम तथा नियन्त्रणका नाममा जथभावी रकम संकलन नगर्न प्रशासनको आग्रह गरेको छ । प्रशासनले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रानुसार विभिन्न जिल्लाहरूमा कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणको नाममा आफूखुसी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त भएकोले त्यसो नगर्न आग्रह गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कोरोना उपचारको नाममा जथाभावी रुपमा रकम जम्मा गर्ने कार्य कोही कसैले नगर्न नगराउनको लागि आग्रह गरिएको बताए । उनले ,कसैले स्वेच्छिक रूपमा रकम जम्मा गर्न चाहेमा कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं, १९६०००००११०१ मा जम्मा गर्न सक्ने बताए । यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले राहत,उद्धार कार्य एकद्धार प्रर्णालीबाट हुनु पर्ने निर्णय गरेको थियो ।