आफुलाई कर्णालीको नेता भन्न पाउँदा गौरव महसुस गर्छु – कांग्रेस नेता शाह

सधैजसो जाजरकोट या काठमाण्डौमै रहनुहुन्छ, यसपटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा के को शिलशिलामा आउनुभएको हो ?
वीरेन्द्रनगर सुर्खेत आउनुको कारण अरु त खासै केही थिएन । वीरेन्द्रनगरमा बैशाख १२ गते देखि कर्णाली प्रिमियर लिग केपिएल क्रिकेटको आयोजना गरिएको थियो, सोही कार्यक्रमको समापन गर्ने शिलशिलामा वीरेन्द्रनगर आएको हुँ । उद्धघाटनमै आउने निम्तो थियो तर कार्यव्यस्तताले गर्दा आउन पाईन । समापनमा समय मिलाएर आएको हुँ ,अरु त्यस्तो विशेष केही थिएन ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि के मा व्यस्त हुनुहुन्छ ?
पक्कै पनि म गत बर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा जाजरकोटबाट चुनाब लडेको थिए । निर्वाचनमा पराजय भएपनि अहिले जाजरकोटका जनताको समस्या , र समग्र पार्टी सुदृढिकरणको कार्यमै व्यस्त छु । भखैरै मात्र एथेलेटिक्स संघको केन्द्रिय अध्यक्षको जिम्मेवारी समेत पाएको छु । खेलकुद र राजनीति संगसंगै चलाईरहेको छु ।
राजनीति संगसंगै समाजसेवामा पनि तेत्तिकै व्यस्त हुनुहुन्छ । पछिल्लो समय जाजरकोटमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्दै हुनुहुन्थ्यो । अहिले त्यो कार्य कति सम्पन्न भयो ?
हजुर ! जाजरकोटका जनतालाई गाउँघरमै उपचार सेवा दिने उदेश्यले अस्पताल निर्माण गर्ने योजना बनाएको छु । यसको कार्य लगभग ९५ प्रतिशत सम्पन्न भयो । अझै केहि समय लाग्न सक्छ , सम्भवत आउदो दशैसम्म निर्माण कार्य सकिन्छ होला ।
अस्पताल निर्माण भयो । अब यसलाई कसरी सञ्चालन गर्नुहुन्छ ? कस्ता खालका सेवा जनताले पाउछन ? यहाँले त नीजि लगानीमा निर्माण गर्दै हुनुहुन्छ । अस्पताल सञ्चालनमा आईसकेपछि मासिक कति खर्च लाग्ने अनुमान गर्नु भएको छ ?

अब यस्तो छ हेर्नुस । अस्पताल निर्माण गर्ने संकल्प थियो, त्यो पुरा हुदैछ । तर पछिल्लो समय केहि जटिलताहरुपनि यस बिचमा देखिएका छन किनभने कम्तिमा मासिक २० देखि २२ लाखसम्म खर्च हुन्छ । अव यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा म छु । कुनै राम्रो संघ संस्था या सरकारसंग सहकार्य गरेर अस्पताल सञ्चालन गर्ने योजना बनाएको छु । यो परियोजना सजिलो गरि सञ्चालन गर्न निकै गाह्रो छ, तैपनि सञ्चालन गर्नबाट पछि हट्ने छैन । अहिले सबैभन्दा ठुलो समस्या डक्टरको रहेको छ ।
अहिले राजनीति गर्नेहरुले राजनीतिलाई पेशासंग जोडेका छन । राजनीति विशुद्ध समाजसेवा हो भन्ने किन नबुझेका होलान ? यहाँलाई के लाग्छ ?
तपाईले सहि प्रश्न गर्नुभयो । त्यसकालागि तपार्ईलाई धन्यवाद छ । अब राजनीति साच्चै भन्ने हो भने समाजसेवा नै हो । यसमा दुई मत नै छैन तर अहिले यो गरिखाने पेशा भयो । यो सबै सिस्टमको कारण हो जस्तो लाग्छ । मान्छेले सिस्टममा काम गर्न जानेनन । केन्द्र त थियो नै स्थानीय राजनीतिक पार्टीका नेताहरुले पनि सिस्टममा जान सकेनन । जसले गर्दा यहाँले भनेजस्तै केहि राजनीतिज्ञहरुले राजनीतिको आडमा आफ्नो फाईदा लिईरहेका छन ।
देश संघीय संरचनामा अघि बढिसकेको छ । तीन तहका सरकार छन, सरकारले स्थानीय तहका वडा अध्यक्ष र सदस्यहरुलाई समेत तलब भत्ता सहितका सेवा सुविधा दिने प्रावधान ल्याएको छ, यसमा यहा“को धारणा के छ ?
होईन तलब भत्ता लिनु स्वभाविक नै जस्तो लाग्छ तर यसको दुरुपयोग गर्नुहुदैन । जनप्रतिनिधिहरु पनि विकास निर्माणका दौरानमा हिड्नुपर्छ, घुम्नुपर्छ, पैसा त चाहिन्छ नै काम गरेपछि, तर राज्यको स्रोतलाई एकदम अनुशासनमा रहेर खर्च गर्नुपर्छ । म सरकारी सेवा सुविधा लिन्न भन्न पाईन्छ नै, म पनि यसअघि संविधान सभाको सदस्य हुदाँ सेवा सुविधा नलिने बताएको थिए । तर सरकारले खातामा तलब हाल्दिन्छ , त्यसलाई उतै फर्काउन पनि सिस्टम छैन । मैले त्यो पैसा निकालेर समाजसेवामा लगाए, तलब लिन्न भन्न पाईन । जनप्रतिनिधीले पैसा लिनु अन्यथा होईन तर बढि विकास निर्माणमा केन्द्रित हुनुपर्छ, आफ्नो सेवा सुविधा भन्दापनि ।
विभिन्न संघर्षवाट प्राप्त भएको र १० जिल्ला मिलेर बनेको कर्णाली प्रदेश छ, यस प्रदेशमा जाजरकोटपनि पर्दछ ,अब यहा“ले कर्णाली या काठमाण्डौ आफुलाई कुन ठाउँको भन्न रुचाउनुहुन्छ ?
हा हा हा ! म कर्णालीकै हुँ । म हिजो जाजरकोटमा नहुर्के पनि पुख्र्यौली थलोमा सेवा गर्न आए । देशमा परिवर्तन भएसंगै जाजरकोट अहिले कर्णाली प्रदेश छ । म आफुलाई कर्णालीको नेता भन्न पाउँदा गौरवको महसुश गर्छु ।
कर्णालीमा विकासको सम्भावनाहरु के के देख्नुभएको छ ?
कर्णालीको विकासका धेरै सम्भावनाहरु छन । खासगरी म त के भन्छु भने कर्णालीको विकासका विषयमा बहस गर्न जरुरी छ । मैले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग पनि केहि महिना पहिले भेटेर कुराकानी पनि गरेको छु । कर्णालीलाई साच्चै सम्बृद्ध बनाउन यहाँको टुरिज्मको विकास गर्न पहिलो आवश्यकता छ । साथै स्र्पोटस टुरिज्मका विषयमा पनि ध्यान दिन जरुरी छ । यहाँका राजनीतिक दलहरुले अबको कर्णाली कस्तो बनाउने भन्ने विषयमा अन्तरपार्टीबिच पनि बृहत छलपल र बहस गर्न आवश्यक छ ।
अनि कर्णालीमा पुर्वाधार छैन, पुर्वाधार निर्माण गर्न पनि अत्यन्त जरुरी छ । मलाई लाग्छ , पर्यटन, कृषि , लगायतलाई विकास गर्नसके कर्णालीमा विकास हुने सम्भावना छ ।
अब प्रसंग बदलौ गत बर्षको प्रदेश तथा प्रतिनिध सभाको निर्वाचन पछि कांगे्रस कसरी कमजोर भयो ? तपाईलार्ई के लाग्छ ?
मुख्यकुरा त कांग्रेस व्यक्ति केन्द्रित भयो । सिगों पार्टी केन्द्रित भएन जसका कारण कमजोर भयो । विभिन्न खेमामा विभाजित भएर चुनाव लड्यौ । आन्तरिक किचलोका कारण समेत कमजोर भएको हो । अर्को कुरा दुई ठुला कम्युनिष्ट पार्टी विचको एकिकरणले पनि हाम्रो हार भयो ।
अब कांग्रेसले संगठन सुदृढिकरण गर्न के गर्नुपर्ला ?
संगठन सुधार गर्न सबै एकजुट हुनैपर्छ । मेरो कुरा गर्नुहुन्छ भने मैले जाजरकोटमा पार्टीका सबै तहका कार्यकर्ताहरुलाई मिलाएको छु । हाम्रो भन्दा राम्रो सक्षम व्यक्तिलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नुपर्दछ । तब न संगठन बलियो हुन्छ । त्यसैले म के भन्छु भने सिस्टम नै राम्रो हुनुपर्छ । कांग्रेसको केन्द्रिय कमिटिले आत्मसमिक्षा गर्नुपर्छ की हामी कुन अवस्थामा छौ । अबका के एजेन्डा हुन ? ‘युनाईटेडली डिसिजन’ नआएका कारण पार्टी कमजोर भएको छ । अब कांग्रेसको  केन्द्रिय कमिटीले ‘युनाईटेडली डिसिजन’ गर्नूपर्छ ।
पुनः कोईराला परिवारलाई पार्टीको नेतृत्व हस्तान्तरण गरे कांगे्रस अघि बढ्ला ?
हामी नेपालीहरुको मन एकदमै पग्लने गर्छ । जस्तै हिजो राजा फालेको १० बर्ष भएको छैन, फेरी राजा चाहियो भन्दै केहि व्यक्ति नारा लगाउदैछन । संघिय गणतन्त्रको अभ्यासमै छौ तर अहिले के के चाहिएको छ । हिजो कोईरालाले पनि त पार्टी चलाए के भयो र ? कोईरालाले सकेनन भनेर देउवा रोजियो, देउवाको पनि देखियो , आखिर दुवैको देखियो नि सिस्टम कोहिले पनि बसाल्न सकेनन । त्यसैले यो त्यो चाहियो भन्दा पनि सबै एकताबद्ध बन्नुपर्छ ।
सम्रग कर्णाली प्रदेशमा अहिले पार्टीको अवस्था कस्तो देख्नुहुनछ ?
अरु जिल्लाहरुमा गएको छैन । चुनाबको रिजल्ट हेर्ने हो भने त नाजुक नै छ । उदाहरणकालागि श्रीमान र श्रीमतीको सामान्य झगडा भयो भन्दैमा श्रीमतीले श्रीमान र छोराछोरी छोडेर जाने हो भने घरको हालत के हुन्छ ? कुरा मिलेन भन्दैमा मनमुटाव गर्न जरुरी छैन । अहिले कर्णालीको चुनाबी नतिजाले केहि तल छौ । तरपनि भातृसंगठन तरुण दल, नेवि संघ , महिला संघहरुको क्रियाशिलता छ ।
कांग्रेसको आगामी महाधिवेशनमा सभापति पदमा कस्लाई सहयोग गर्नुहुन्छ ? देउवा ? पौडेल ? या अन्य ?
हा हा हा हा ! सारै अप्ठ्यारो प्रश्न सोेध्नुभयो तर म चाहीँ आगामी महाधिवेशनमा कसको राम्रो भिजन छ उसलाई नै सर्पोट गर्छु । पहिले मलाई त जाजरकोटको विकासको पीर छ । म केन्द्रिय स्तरमा प्रभाव पर्ने क्षमता राख्दिन । मेरो स्वभाव आफ्नो नीजि फाईदाकालागि कसैलाईपनि माईनस गर्ने र उचाल्ने बानी छैन । म कुन खेमामा छु, तपाईलाईपनि थाहा छ , त्यहि भित्रबाट रोल खेल्छु ।
उसो भए तपाई वर्तमान सभापति देउवाकै खेमाबाट केन्द्रिय सदस्य बन्न चाहानु हुन्छ , हैन ?
हा हा हा हा हा ! अब तपाईले प्रश्न सोध्नु भयो । धन्यवाद, मौका र चौका हेरेर खेमा बदल्नुहुदैन । म फेरी पनि के भन्छु भने म अरुलाई माईनस गरेर अघि बढ्दिन । हामी राजनीति गर्ने मान्छेले पार्टीभित्र खेमा समाउनैपर्छ । मेरो लिगेसी शेरबहादुर दाईप्रति छ ।
बिपिले भनेका थिए, समाजवाद भनेको एउटा घरमा एक हल गोरु,एउटा दुहुनो गाई होस । विपिको त्यहि नीतिलाई छोडेर कांग्रेस नीजिकरणमा गयो हैन ? उद्योग धन्दा बेच्यो,राज्यमा विदेशी लगानी भित्रायो, स्वाधिन अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्र विकास नगरी निजीकरण गरिदाँ उद्योगधन्दाहरु चौपट बने । पराधिन अर्थतन्त्र सुधार्न कांग्रेसको आगामी महाधिवेशनमा नीतिमा सुधार गर्नुपर्ने केही देख्नुहुन्छ ?
अब हेर्नुस, अहिलेको कम्युनिष्ट चाईनालाई हेर्नुभयो भने कम्युनिष्टको नीति कति कठोर छ तर अहिले २१ औ शताब्दीमा कठोर नीति ल्याउनुभयो भने सम्भव नहुन सक्छ । पहिले विपिले गाई भन्नुभएको थियो । अहिले गाई होईन घर घरमा गाडी चाहेका छन जनताले । हिजो विपिको समयमा तेहि आवश्यकता थियो र त त्यो नीति भयो । त्यत्तिखेर तेहि नीति उत्कृष्ट थियो ।
समय धेरै परिवर्तन भएको छ । अब कसरी नीति बनाउने भन्ने विषयमा स्थानिय स्तर देखि नै व्यापक छलफल गरेर नीति बनाउछौ ।
यसैमा जोड्न चाँहे की कांग्रेसले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र छोडेर कमजोर भएकोे हो की ? आगामी महाधिवेशनमा यो नीति परिवर्तन भन्ने हल्ला छ , यसमा हजुरको व्यक्तिगत बिचार के छ ?
यसमा मेरो विचार के छ भने म अमेरिका , बेलायत पढे । त्यहाँ देख्नु भाछ आफ्नो संस्कार अहिलेपनि उस्तै छ । त्याहाँ अन्य समुदायको राष्ट्रपति भएको छैन । र महिला समेत राष्ट्रपति बन्न सकेको छैन । मैले महिला भन्दा महिलालाई उपेक्षा गर्न खोजेको होईन , तपाईकै प्रश्नमा जोडेको हुँ ।
अमेरीका बेलायतमा पनि त प्रजातन्त्र छ नी । त्यहाँ सपथ लिँदा बाइबलमा हात राखेर सपथ खाने चलन अझैपनि छ । के उनीहरु हामी भन्दा अविकसित छन त ? के हामीहरु उनीहरु भन्दा विकसित भैसकेका छौ ? अस्ति संविधान बनाउँदा पनि भगवान या व्यक्ति (मान्छे)को नाममा सपथ खाने बारेमा समेत बहस भयो ।
भन्नाले संवैधानिक राजतन्त्र र हिन्दुराज्यमा कांग्रेस सहमत छ ?
नाई नाई ! म विवादित हुने कुरा गर्दिन । अलि पहिले खुमबहादुर दाईले बोल्नुभएको थियो र अहिले पनि कता कता त्यो कुरा सुनिन्छ, हिन्दु राष्ट्र कायम गर्न सक्दा राम्रै हुन्छ । अरुबारे मेरो भन्नु केही छैन । जुन सिस्टम हामीले लियौ, त्यसलाई नै सुधार गर्न लागौ, त्यो कमी कमजोरीलाई सुधारिएन भने समयले नै हामीलाई फाल्छ ।(सिद्धदर्शन दैनिकबाट)