कर्णाली प्रमियर लिगको उपाधी त्रिभुवन आर्मीको हातमा

सुर्खेत । सुर्खेतमा जारी केपीएलको उपाधी लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबले जितेको छ ।
प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि समेत आर्मीलेनै जितेको थियो । सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित भए जसले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान कर्णाली ११ का रबिन्द्र जंग शाही तथा उत्कृस्ट बलर आर्मीका सुशन भारि घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे।खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो ।
आर्मीको लागि हरि बहादुर चौहानले सर्वा्धिक ५६, राजु रिजालले ३४ तथा भिम शार्कीले अविजित २१ रन बनाए ।
न्यु होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबले समान १र१ विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहब आलमले ३ ३ विकेट तथा सुसन भारिले २ विकेट लिए । होराइजनको लागि बिशाल सुनारले सर्वा्धिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच हरि बहादुर चौहान चुनिए । कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो जसमा कुल ८ टोलि सहभागी रहेका थिए ।