अनुसन्धान केन्द्र स्थापना गर्न प्रस्ताव

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ईन्जिनियरिङ संकायमा अनुसन्धान केन्द्र स्थापनाका लागि दक्षिण कोरियासमक्ष प्रस्ताव गरेको छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसामू विश्वविद्यालयले प्रस्ताव पेस गरेको हो ।
विश्वविद्यालयमा आयोजित राजदूत योङसँगको अन्तक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक उपेन्द्रकुमार कोईरालाले विद्यार्थीका लागि सुविधासम्पन्न अनुसन्धान केन्द्र स्थापनाका लागि प्रस्ताव राखेका हुन्. ।
ईन्जियनियरिङ संकायका विद्यार्थीलाई विभिन्न क्षेत्रका विषयको गहिरो अध्ययनका लागि समस्या हुने गरेको भन्दै सुविधा सम्पन्न अनुसन्धान केन्द्र स्थापनाका लागि विश्वविद्यालयले माग गरेको हो ।
’विद्यार्थीको शैक्षिक गुणस्तरका लागि अनुसन्धान केन्द्रको आवश्यकता छ,’ उपकुलपति कोईरालाले भने, ’विश्वविद्यालयको प्रस्ताव दक्षिण कोरियाले स्वीकार गरी आवश्यक सहयोग गर्नेछ ।’
उनले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक विकासका लागि पनि दक्षिण कोरियासँग सहयोगको माग गरे । दक्षिण कोरियामा रहेका विश्वविद्यालयहरूसँग सहकार्य गर्ने अवसर मिल्ने अपेक्षा पनि उपकुलपति कोईरालाले राखे ।
राजदूत योङले विश्वविद्यालयको प्रस्तावमाथि गहन अध्ययन गरी छलफल गरेर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले आगामी दिनमा दक्षिण कोरियामा रहेका विश्वविद्यालयसँग यो विश्वविद्यालयलाई जोड्नका लागि आवश्यक कदम चाल्ने पनि उनको भनाइ छ ।
(कान्तीपुर दैनिकबाट साभार)