अमेरिकी तल्लो सदनले राष्ट्रपतिमा बाइडेनको जित अस्वीकार गर्ने 

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका १ सय ४० रिपब्लिकन सांसदले राष्ट्रपतिमा जो बाइडेनको जित अस्वीकार गर्ने भएका छन् । उनीहरुले जनवरीमा संसदले गर्ने इलेक्टोरल मतगणना अस्वीकार गर्ने तयारी गरेका हुन्।उनीहरुको विरोधले चुनावी नतिजा परिवर्तन गर्ने सम्भावना शून्य प्रतिशत रहे पनि संसदले बाइडेनको जितलाई औपचारिकता दिन भने केही घण्टा ढिलाइ हुनसक्नेछ।

त्यस्तो विरोध सदनका डेमोक्र्याटहरुले अस्वीकार गर्ने निश्चित छ भने माथिल्लो सदन सिनेटबाट पनि पारित हुने सम्भावना छैन।कुनै पनि राज्यको परिणामबारेको असहमति औपचारिक रुपमा दर्ता भएमा संसदका हरेक सदनमा राज्यको परिणाम अस्वीकार गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुन्छ। तर, अस्वीकार गर्नका लागि दुबै सदनबाट पारित हुनुपर्ने भएकाले त्यस्तो सम्भावना यसपटक शून्य रहेको छ।