बिजुली आपुर्ति नहुँदा सम्म जुम्लाबासीको आन्दोलन जारी रहने
दिलमाया शाही
लामो समय देखि नियमित बिजुली आपुर्ति हुन नसकेपछि जुम्लाबासीले सडकमै दियालो बालेर संघर्षका कार्यक्रम अघि बढाएका छन् । उनीहरुले तत्काल बिजुली आपुर्तिको व्यवस्था मिलाउन माग गरेका हुन् । झण्डै आधा महिना देखि बिजुली आपुर्ति हुन नसकेको र सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै बिजुली आपुर्तिमा जोड दिन आग्रह गरिएको हो ।
चन्दननाथ नगरपालिका ५ को बालमन्दिर नजिकै दियालो बालेर सरकारको ध्यानाकर्षण गराएको विद्युत आपुर्ति संघर्ष समितिका संयोजक तथा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले जानकारी दिए । उनले भने,‘आजको विज्ञान प्रविधिको युगमा समेत अन्धकारमा बस्नु निकै अन्यायपुर्ण हो । भाषणमा हामी एक्काइसौँ शताब्दिको अत्याधुनिक युगमा मानिस हौँ भन्छौँ तर अन्धकारमा जीवन ब्यतित गरेको तर्फ ध्यान दिदैनौँ । जुम्ला बिजुलीविहिन हुँदा कसैले पहल गर्दैनौँ । ’
राजनितीक दल, सामाजिक संघसंस्था, पत्रकार, नागरिक समाज, सचेत युवा सम्मिलित विद्युत आपुर्ति संघर्ष समिति गठन भएको छ । विद्युत नियमित रुपमा आपुर्ति नहुँदा सम्म कडा आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी समितिले दिएको छ ।
बत्ति र इन्टरनेटको सुविधा चौविसै घण्टा चाहियो । जुम्लामा नयाँ खरिद गरिएको मेसिन खरिदमा भएको अनियमितता देखि केन्द्रीय प्रसारण लाइन र इन्टरनेटको पुर्ण सुविधा नभए सम्म आन्दोलन जारी हुनेछ । संयोजक महतले थपे,‘आन्दोलनका रुपहरु दैनिक फेरिन्छन् । कोभिडलाइ मध्येनजर गर्दै शान्तिपुर्ण आन्दोलन गछौँ । जब सम्म नियमित रुपमा बिजुलीको प्रबन्ध हुदैन तब सम्म आन्दोलन रोकिनेछैन् । आन्दोलनका क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकाय नै हुनेछ । यो जुम्लाबासीको चेतावनी हो । ’
समितिले जुम्लाबाट प्रतिनिधि सभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीको पनि ध्यानाकर्षण गराएको छ । यो आन्दालन उज्यालो जुम्लाका लागि भएकोले सबैले साथ दिन समेत आव्हान गरिएको छ । अहिलेको जमानामा हातहातमा मोवाइल छ । बिजुली छैन् । मोबाइल स्वीच अफ गर्नु परेको छ । संयोजक महत भन्छन्,‘बिजुली नहुँदा बजारमा मौलाएको कालोबजारीको समेत अनुगमन गर्न आग्रह गरेका छौँ । ’
बिजुली आपुर्ति हुन नसक्दा छापा तथा बिद्युतीय सञ्चार माध्यम समेत बन्द छन् । बिजुली आपुर्तिका लागि थालिएको दवाब मुलक आन्दोलनमा पुर्व सांसद तथा राज्यमन्त्रीले समेत साथ दिएका छन् ।
अहिले विद्युत गृहमा रहेका दुबै मेसिन बिग्रेका छन् । तर प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट खरिद गरिएको डिजेलप्लान्ट र नेपाल बिद्युत प्राधिकरणले पठाएको डिजेलप्लान्ट बाट भएपनि बिजुली नियमित गर्न जुम्लाबासीले माग गरेका छन् ।








