जातीय विभेद तथा छुवाछुतविरुद्ध सामूहिक सहभोज

मुगु:हिमाली जिल्ला मुगुको छायाँनाथ–रारा नगरपालिका ले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एउटै स्थानमा बसेर सामूहिक रूपमा भोजन गर्दै जातीय विभेद सामाजिक अपराध भएको सन्देश प्रवाह गर्नुका साथै सामाजिक एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई व्यवहारमै स्थापित गर्ने प्रयास गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णुकुमार भाम ले जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त नभई व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताए। उनले नगरपालिका जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै बाहिरी रूपमा छुवाछुत नगरेजस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम रहेको बताए। जातीय आधारमा कसैले विभेद वा छुवाछुत गरेको पाइए कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे।
नगर प्रमुख भामले दुर्गम क्षेत्रमा रहेका दलित समुदायका समस्या समाधान, परम्परागत पेसाको संरक्षण तथा प्रवर्द्धनका लागि मुलुकका स्थानीय तहमध्ये पहिलो पटक दलित नीति तथा कार्यविधि पारित गरिएको जानकारी पनि दिए।
दलित अधिकारकर्मी बलराम शाहनी ले जातीय विभेद अन्त्यका लागि यस्ता सहभोज कार्यक्रम व्यवहारिक अभ्यासका रूपमा प्रभावकारी हुने बताए। उनका अनुसार सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्छ। उनले आगामी दिनमा यस्ता कार्यक्रम सदरमुकाममा मात्र सीमित नराखी ग्रामीण बस्ती तथा स्थानीय धामी–झाँक्रीसमेत सहभागी हुने गरी सञ्चालन गर्न सके जातीय विभेद तथा छुवाछुत अन्त्यमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, दलित हेल्प डेस्कमा कार्यरत कालीबहादुर नेपाली ले सामूहिक सहभोज सामाजिक रूपान्तरणको महत्त्वपूर्ण अभियान भएको उल्लेख गर्दै जातीय विभेद अन्त्यका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए।
प्रमुख प्रशासकीय अधिकृत विष्णु पौड्याल ले जातभन्दा मानवतालाई प्राथमिकता दिनुपर्ने, व्यक्तिको क्षमता र योगदानका आधारमा सम्मान गर्नुपर्ने तथा छुवाछुत व्यवहारमै अन्त्य नभएसम्म समानताको लक्ष्य पूरा नहुने बताए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि जातीय विभेद अन्त्यका लागि सोच र व्यवहार दुवैमा परिवर्तन आवश्यक रहेकोमा जोड दिएका थिए। सहअस्तित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।








