एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरेको हो। उनलाई सुर्खेतबाट पक्राउ गरिएको विभागका एक अधिकारीले बताए। । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताए ।
दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएको उच्च स्रोतले बताए । भट्टको नाममा पौडेलले करिब ३० करोड रुपैयाँको सेयर लिएको स्रोतको दावी छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् । भट्टको कारोबारमाथि थप अनुसन्धान चलिरहँदा सम्बन्ध देखिएका व्यक्तिसमेतको पहिचान गरिएका छन् । त्यसक्रममा पौडेलसमेत देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।
उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।








